महानगरपालिकाको अध्ययनका लागि २५ लाख


महानगरपालिकाको अध्ययनका लागि २५ लाख

नेपालगन्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउँन सम्भाव्यता अध्ययन गर्न उपमहनागरपालिकाले २५ लाख बजेट विनियोजन गरिएको छ ।

तर, अहिलेसम्म सम्भाव्यता अध्ययनलगायतका कुनैपनि काम अघि बढ्न सकेका छैनन् । उपमहानगरपालिकाले यसअघिको नगर सभाबाट उक्त रकम विनियोजन गरेको उपमहनागरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल बताउँछन् ।

प्रदेश सरकारले महानगरपालिकाका लागि सारेको अवधारणाका आधारमा नेपालगन्जलाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन शुरु गरिएको थियो । तर, शुरुको एक वर्ष केही काम गर्न खोजेकोजस्तो देखिए पनि अहिले आएर यसको गति निकै सुस्त देखिएको छ ।

प्रदेश सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही र नेपालगन्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ । तर, कोहलपुर नगरपालिका महानगर बन्नकै लागि उपमहानगरसँग मिसिने अवस्थामा देखिदैन् ।

कोहलपुर विकासका हिसाबले नेपालगन्जसँग प्रतिस्पधी भइसकेको छ । जनसंख्याका हिसाबले पनि खासै कमजोर नभएको कोहलपुर नेपालगन्ज उपमहानगरसँग मिसिनुको साटो राप्तीसोनारी र बैजनाथलाई मिसाएर आफै उपमहानगरपालिका बन्न सक्ने हैसियतमा देखिएको छ ।

यसैले पनि नेपालगन्ज उपमहानगरपालिका तत्कालै महानगर बन्न सक्ने सम्भावना कम रहेको जानकारहरु बताउँछन् । खजुरा र जानकी मिलाउँदा महानगरपालिकाका लागि भौतिक पुर्वाधार र जनसंखयको मापदण्ड नपुग्ने देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बाँके जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना उपमहानगरको रहेपनि यो सत्प्रतिशत सम्भावना नहुने कोहलपुरका जानकार बताउँछन् ।

जानकारहरुका अनुसार आसपासका गाउँपालिका नेपालगन्जमा गाभिनुभन्दा कोहलपुर, बैजनाथ र राप्तीसोनारीलाई गाभेर कोहलपुर उपमहानगरपालिका, जानकी र खजुरालाई गाभेर एउटा नगरपालिका बनाउँनु नै उपयुक्त हुनेछ ।

महानगरपालिका बनाउन आवश्यक भौतिक पूर्वाधार, भौगोलिक क्षेत्र, जनसंख्या लगायतका आवश्यक विषयमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल बताउँछन् ।