परिचयपत्र अद्यावधिक गर्दै गाउँपालिका


परिचयपत्र अद्यावधिक गर्दै गाउँपालिका

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको परिचयपत्र अद्यावधिक कार्य शुरु गरेको छ । ०७६ साउनदेखि मङ्सिर महीनासम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने परिचयपत्र अद्यावधिक गर्न नविकरण समेत गर्नुपर्ने भएकोले गाउँपालिकाका छ वटै वडामा घर–घरमा पुगी परिचयपत्र नविकरण कार्य शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

उनका अनुसार, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अपूर्ण भएको, दोहोरो परेको, नविकरण नभएको र छुट विवरण समेतलाई अद्यावधिक गर्न लागिएको छ ।

वडा कार्यालय वा गाउँपालिका कार्यालयमा पुगेर सामाजिक सुरक्षाभत्ता पाउने परिचयपत्र नविकरण कार्य अव्यवहारिक हुने भएकोले प्रत्येक वडाकार्यालयबाट महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरी घर–घरमै सेवा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

गाउँपालिकाले यसअघि घुम्ती शिविर आयोजना गरेर जेष्ठ नागरिक परिचयपत्र, आपाङ्गता परिचयपत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाका लागि आवश्यक पर्ने बैंङ्क खाता खोल्ने सुविधासमेत घरङघरमा उपलब्ध गराएको थियो ।

गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधाको जानकारी दिन र जनताको काम गरिदिन गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि प्रत्येक वडामा पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।

गाउँपालिकाले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम समेत कार्यान्वयन गरेको छ । गाउँपालिकाको छ वटै वडामा ८४ वर्ष उमेर पूरा गरेका करिव २ सय जेष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत बन्न महिनामा कम्तिमा पनि दुई पटकसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिने गरिएको जानकी गाँउपालिका अध्यक्ष रामनिवास यादवले बताए ।