जोखिममा निकुञ्जकै वन्यजन्तु


जोखिममा निकुञ्जकै वन्यजन्तु

नेपालगन्ज : निकुञ्ज तथा संरक्षित क्षेत्रका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ । राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा देशका विभिन्न निकुञ्ज तथा  संरक्षित क्षेत्रहरुमा ४ सय ९९ वन्यजन्तुको मृत्यु भएको थियो । त्यसमध्ये सडक दुर्घटनाबाट मात्रै १ सय १९ वन्यजन्तु मरेको निकुञ्जको रेकर्डले देखाउँछ ।

सबैभन्दा बढी बँदेल, चित्तल र बाँदर सडक दुर्घटनाको उच्च जोखिममा छन् । गत आर्थिक वर्षमा एउटा पाटेबाघको समेत सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
चित्तल २९, बँदेल २४, बाँदर २२, चितुवा २, जरायो ४, रतुवा १, स्याल ६, नीर बिरालो ४, नीलगाई २, चौका ३, दुम्सी ५, खरायो २, अजिंगर १, गोहोरो २, न्याउरी मुसा १, लोखर्के १, अन्य ९ को सडक दुर्घटनामा परी मृत्यु भएको वन्यजन्तु संरक्षण विभागको तथ्याकंले देखाउँछ ।

आर्थिक वर्ष २०७५/०७६ मा सवारीसाधनको ठक्करबाट एक सय १९ वन्यजन्तु मरेका छन् । सडक दुर्घटनाको जोखिम बाँके, बर्दिया , शुक्लाफाँटा र चितवन
राष्ट्रिय निकुञ्जमा बढी छ । बाँकेको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर–सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग छ ।

राजमार्गले घेरिएका कारण पनि निकुञ्जका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बनेको हो । तीव्र गतिमा आउने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने गरेका छन् ।

बाँके निकुञ्ज सुक्खा निकुञ्ज भएकाले पनि पानीका लागि वन्यजन्तु सडक वारपार गरिरहन्छन् । दुर्घटनाको अवस्था हेर्दा सुक्खा मौसममा अझ बढी वन्यजन्तु दुर्घटनामा पर्ने गरेको बाँके निकुञ्जले जनाएको छ।

पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षति हुने तथा मानिसले प्रतिकार गर्दा जनावर मारिने घटना पनि हुने गरेका छन् ।
बर्दियामा सडक दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । बाँकेमा पनि त्यस किसिमको अभ्यास गरिएको थियो । तर, त्यो सफल हुन सकेको छैन् । बाँकेमा ‘क्रसिङ’ झोलुंगे किसिमको डोरी बनाउन थालिएको छ ।