नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री अभियानका अधिकांश सूचक पूरा गरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी गरेको छ ।
बालमैत्री अभियान अवलम्बन गरी चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेल बताउँछन् ।
उनकाअनुसार चालू आर्थिक वर्षमा गाउँपालिकाले १२ लाख रुपैयाँ बालबालिकाका लागि विनियोजित गरेको छ । बालमैत्री गाउँपालिका निर्माणमा खजुरामा सक्रियता बढेको छ । गाउँपालिकाले लिएको बालमैत्री अभियानलाई साथ र सहयोग भने गाउँपालिकामा रहेका बाल क्लब तथा किशोरी क्लबहरुले साथ दिइरहेका छन् ।
उनीहरु यतिमात्र नभई बाल क्लब, किशोरी क्लब गठन, पुनःगठन र विस्तार गर्दै बालमैत्री गाउँपालिकामा परिणत गराउन कसरतमा जुटेका छन् । गाउँपालिकाका विभिन्न वडा, समुदाय तथा विद्यालयस्तरमा गठित बाल क्लब र किशोरी क्लबमा आबद्ध बालबालिकाले बालबालिका सम्बन्धी व्याप्त समस्या, चुनौतीलाई न्यूनीकरण गर्न समूह छलफलसँगै सम्बद्ध सरोकारवालालाई झक्झकाउने समेत गरेका छन् ।
गाउँपालिकाले बामलमैत्री अवधारणालाई अवलम्बन गरेपश्चात बाल क्लबहरूले बालबालिकाको क्षेत्रमा क्रियाशील भई कार्यक्रम सञ्चालन गर्न थालेपछि परिवर्तन आएको छ । बिहान विद्यालय पुग्ने र बेलुकी घर फर्किने बालबालिका पछिल्लो समयमा बालमैत्री अभियानमा क्रियाशील बन्न थालेका छन् ।
बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, सार्वजनिक सवालमा सरोकारवालालाई भ mक्झक्याउनेदेखि टोल, विद्यालय सरसरफाइ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
यसबाट बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको व्यवहारमा समेत परिर्वतन आएको छ । बालमैत्रीउन्मुख गाउँपालिकाले यसअघि बालमैत्री अवधारणाअनुरुप विभिन्न सूचकहरुसमेत पूरा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार खजुरालाई बालमैत्री बनाउनका लागि नीति तथा बजेट विनियोजन गर्दै कार्यक्रम अघि सारिएको छ ।