नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले अग्रज पत्रकार रेशम बिरहीको उपचारमा सहयोग गर्न अपिल गरेको छ । पेटको क्यान्सरबाट पीडित विरहीको उपचारका लागि आर्थिक सहयोग गर्न आव्हान गरिएको बाँके शाखाले जनाएको छ । शाखाले संस्थागत १५ हजार र कार्यसमिति सदस्यबाट १-१ हजार गरी कुल ३५ हजार रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
विरहीको उपचारका लागि आर्थिक सहयोग गर्न चाहने ब्यक्ति तथा संघसंस्थालाई पत्रकार महासंघ बाँकेको कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।
यसैबीच, किमो थेरापी भइरहेको र अप्रेसन गर्नुपर्ने अवस्थामा उपचार खर्चको जोहोको जटिलता भएपछि नेपालगन्जका भोजराज शर्माको अग्रसरतामा रेशम विरही उपचार कोष स्थापना गरिएकोछ ।
विरहीको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमा पेज बनाई उपचारार्थ सहयोग जुटाउने प्रयास गरिरहेका छौं भोजराजले बताए । उनले भने चितवनमा जन्मेर केही समय काठमाडौं र लामो समय नेपालगन्जलाई कर्मथलो बनाई साहित्य र पत्रकारिताको क्षेत्रमा उनले ठूलो योगदान गरेका छन् । उनको उपचारका लागि सहयोग र सहकार्यको अपेक्षा गर्दछौं ।
भोजराजका अनुसार चितवनमा बसोबास गरिरहेका रेशम बिरही सेकेण्ड स्टेजको आन्द्राको क्यान्सरसँग जुझिरहेका छन् । भरतपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको छ ।
रेशम बिरही घिमिरे वरिष्ठ पत्रकार तथा कवि हुन् । नेपाली पत्रकारितामा समानान्तर साप्ताहिकका सम्पादक प्रकाशकका रुपमा परिचित ६६ वर्षीय बिरहीका भित्ताको रङ, मंगली गुप्ताको पान, थाल थालमा सपना, मुलाको बोक्रा आलीमुनिको झ्याउँकिरी आदि स्तरीय कविताकृति प्रकाशित छन् । उनको निबन्धकारिता बेजोड छ ।