नेपालगन्ज: नेपालगन्ज भन्सार कार्यालयको लापरवाही र उदासिनताले समयमा लिलाम हुन नसक्दा दुई करोडबढीका सवारी साधन लामो समयदेखि भन्सार कार्यालयमै अलपत्र छन् ।
नेपालगन्ज भन्सार कार्यालयलमा यस्ता सवारी साधन दुई सयभन्दा बढी छन् । अधिकांश चोरीका मोटरसाइकल तथा गाडी भएको भन्सारले बताएको छ । सवारी साधन लिलाम नहुँदा लाखौंको राजस्व गुमाउनुपरेको भन्सारका कर्मचारीहरू बताउँछन् ।
भन्सार कार्यालयमा रहेका गाडीको लिलाम प्रक्रिया लामो समयदेखि रोकिँदै आएको छ । लिलाम प्रक्रिया अघि नबढेकाले लिलाम हुनुपर्ने भन्सार चोरीका सवारी साधन घामपानीले जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
कन्डिसनमै रहेका राम्रै सवारी साधन पनि थोत्रिएर काम नलाग्ने भएका छन् । राजस्व त गुमेको छ नै, सवारी साधन पनि खेर गएका छन । तर यी साधनको लिाम गर्नका लागि भन्सार कार्यालय उदासिन देखिएको छ ।
भन्सार हाताभित्र खुला चौरमा राखिएकाले महँगा सवारी साधन वर्षाको पानीले खिया लागेर थोत्रिएका छन् । संरक्षण अभावमा लगभग एक सय ७० वटा मोटरसाइकल र दुई दर्जन विभिन्न मोडलका महँगा गाडी काम नलाग्ने भएका छन् ।
समयमै लिलाम गरेको भए ती सवारी साधनबाट दुई करोड रुपैयाँ राजस्व उठ्ने अनुमान भन्सारको छ । तीन वर्षअघि मात्र चोरीका सवारी साधन लिलाम गरी नेपालगन्ज भन्सारले दुई करोड ४३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले भन्सार कार्यालयले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र राम्रै अवस्थाका गाडीहरू समेत लिलाम गर्न नसकेको नेपालगन्ज भन्सार कार्यलयका प्रमुख शान्तिराम निरौला बताउँछन् ।
मूल्यांकन गर्न ढिलाई भएका कारण भञ्सारले बरामद सवारी सधानको लिलाम बढाउन नसकेको खुलेको छ । यातायात कार्यालय भेरीको समन्वयमा मेकानिकल इन्जिनियरले बरामद सवारी साधनको मूल्यांकन र रकम तोकेपछि मात्र लिलाम हुने व्यवस्था छ ।
तर, कर्मचारी अभावको कारण जनाउँदै उक्त मूल्यांकन कार्य गर्न ढिलाई भएको भञ्सारले जनाएको छ । सबै काम सकिए जतिसक्यो छिटो लिलाम प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेको भञ्सारका सूचना अधिकारी परमानन्द जोशी बताउँछन् ।