छाडा चौपाय ट्राफिकको चुनौती


छाडा चौपाय ट्राफिकको चुनौती

नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लाको ट्राफिक ब्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमदेखि सडकमै घुम्ती प्रशिक्षण गरिने बताएका छन् ।

नेपालगन्जमा भर्खरै सरुवा भएर आएका प्रमुख बमले पार्किङ समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने बताए ।

छाडा पशु चौपाया पनि नेपालगन्जको मुख्य चुनौती भएको भन्दै उनले उपमहानगरसँग सहकार्य गरेर कान्जीहाउसमा छाड्ने कार्यलाई निरन्तरता दिइने बताए । छाडा पशु चौपायाका कारण दुर्घटना बढेको बमले बताए । उनले ट्राफिक ब्यबस्थापन चुस्त बनाउन लागि पर्ने समेत बताए । दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिने उनले बताए ।

गाडीहरुमा यात्रु तानातान गर्ने प्रवृत्तिलाई अन्त्य गर्न जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरिने ट्राफिक सई ओम पौडेलले बताएका छन् । उनका अनुसार २४ जना दरबन्दी रहेको बाँकेमा हाल काजमा आएका ट्राफिक प्रहरीको भरमा चलिरहेको छ । बाँकेमा काजसहित ६८ जना ट्राफिक प्रहरी रहेपनि अझैं जनशक्ति अभाव रहेको पौडेलले जानकारी दिए ।