१० हजार बिरुवा रोप्ने अभियान शुरु


१० हजार बिरुवा रोप्ने अभियान शुरु

नेपालगन्ज : शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगन्जमा ‘दशहजार बिरुवा लगाउने’ पूर्व घोषणा कार्यान्वयन ल्याएका छन् । आईतबार बिहान जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै मन्त्री राईले दश हजार बिरुवा रोप्ने अभियानको उद्घाटन गरेका हुन् ।

उनले गत जेठमा गृहनगर आएका बेला हरित शहरका लागि रुख रोप्ने घोषणा गरेका थिए । मन्त्री राईले सातैवटा प्रदेशमा यस्तो अभियान सुरु भएको जानकारी दिदै भने,–‘यहाँ मात्र होइन देशैभर रुख रोपिन्छ ।’ नेपालगन्जमा दुई महिना भित्र दश हजार रुख रोपिने छ । ‘सडक, सार्वजनिकस्थल र सरकारी कार्यालय जहाँ जहाँ ठाउँ उपलब्ध हुन्छ हामी रुख लगाउँछौ ।’ मन्त्री राईले भने–‘यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउँछ ।’

रुख रोप्ने अभियानमा उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणा लगायत जिल्लास्थित नेपाली सेना, प्रहरी, प्रशासन र राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । ‘गाउँ शहर हराभरा बनाउनतिर लागौं । यसका लागि प्रत्येकले घरमा कम्तिमा दुईवटा रुख रोपौं । एउटा फलफुलको अर्को अन्य कुनै रुख ।’ आफ्ना पार्टी कार्यर्ता लगायत सर्वसाधारणसँग अनुरोध गर्दै मन्त्री राईले थपे–‘शहरी सौन्र्दयता बढाउन यो भन्दा अर्को उपाय हुन सक्दैन ।’

यसैबीच, बाँकेको नरैनापुर गाउँपालिकाको गौशालामा पनि आईतबार बृक्षारोपण गरिएको छ । वडा नम्बर ५ को मोतिपुरस्थित गौशाला क्षेत्रमा गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहको नेतृत्वमा साढे ६ सय विरुवा रोपिएको हो ।

अमलाका पाँच सय र जामुनका डेढ सय विरुवा रोपिएको अध्यक्ष शाहले बताए । गाउँपालिकामा २० हजार विरुवा रोप्ने लक्ष्य लिएर गाउँपालिकाले बृक्षारोपणलाई तिब्रता दिएको छ ।

सरकारी कार्यालय, सरकारी विद्यालय, सामुदायिक वन, सार्वजनिक ठाउँ र सडक छेउँछाउँ बृक्षारोपण गरिने अध्यक्ष शाहले जानकारी दिए । गाउँपालिकालाई हरियाली र स्वच्छ बनाउन बृक्षारोपणलाई प्राथमिकता दिइएको प्रमुख प्रशाकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।