गाउँपालिकाकै लगानीमा बिद्युत बिस्तार योजना


गाउँपालिकाकै लगानीमा बिद्युत बिस्तार योजना

नेपालगन्ज : बाँकेको एक स्थानीय सरकारले वर्षौदेखी अन्धकारमा रहेको राप्तीपारी क्षेत्रमा आफ्नै लगानीमा बिद्युत बिस्तार गर्न लागेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ३, ४ र ५ मा बिद्युत बिस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाएको हो ।

उक्त गाउँपालिकाको वडा नम्बर ४ धामपुरमा बिद्युत सवस्टेशन निर्माण भएपनि कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईनको काम ठेकेदारको ढिलासुस्तीले विगत एक दशकदेखी अलपत्र छ ।

काम अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का सम्झौता नेपाल बिद्युत प्राधिकरणले तोडेपनि विवाद साम्य हुन सकेको छैन ।  राप्तीपारी बिद्युतीकरणका विषयमा बाँके आईपुगेका उर्जामन्त्रीले धेरै पटक आश्वासन मात्रै बाँडे । प्रतिवद्धता अनुसार राप्तीपारी क्षेत्रमा बिद्युत सेवा पु¥याउँन सकेनन् ।

राप्तीपारीका बासिन्दाको बिजुली बाल्ने सपना पुरा गर्न गाउँपालिकाको आफ्नै लगानीमा बिद्युत बिस्तार गर्न लागिएको अध्यक्ष लाहुराम थारुले बताए । गाउँपालिकाको वडा नम्बर १ स्थित ‘कुसुम सामुदायिक ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेड’ मार्फत ११ केभी प्रशारण लाईन वडा नम्बर ३, ४ र ५ मा बिद्युत विस्तार गर्ने प्रक्रिया अगाडी बढाईसकेको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ भित्र सबैभन्दा नजिक रहेको वडा नम्बर ३ सम्म बिद्युत बिस्तार गर्ने र लगत्तै वडा नम्बर ४ र ५ मा पनि काम थाल्ने गाउँपालिकाको योजना छ । बिद्युतीकरणका लागि गाउँपालिकाले यसवर्ष एक करोड ३९ लाख रुपैयाँ छुट्याईसकेको अध्यक्ष थारु बताउँछन् ।

गाउँपालिकाको ३, ४ र ५ वडा अन्धकार छ । यी वडामा जनताबाट बिद्युतको माग धेरै भईरहेको हुँदा गाउँपालिकाको आफ्नै लगानीमा लाईन बिस्तार गर्न लागिएको अध्यक्ष थारुले बताए ।

गाउँपालिकाले बिद्युत बिस्तारको काम गर्न थालेपछि राप्तीसोनारीको वडा नम्बर ३, ४ र ५ का स्थानीय बासिन्दा हर्षित भएका छन् । बर्षौदेखीको बिद्युत बाल्ने सपना छिट्टै पुरा हुने उनीहरुको अपेक्षा छ ।

‘बिद्युतको काम बर्षौैदेखी अलपत्र पारेर ठेकेदारले हामीलाई धोका दिएको अवस्थामा गाउँपालिकाले महत्वपुर्ण कदम अगाडी बढाएको छ, यसबाट हामी अत्यन्त खुसी छौं,’ बैजापुरका स्थानीय राम लौटन थारुले भने ।

कुसुमको बिद्युतले राप्तीसोनारीको वडा नम्बर ३, ४ र ५ लाई सजिलैसँग पु¥याउँन सक्ने देखिन्छ । अबको ६ महिनाभित्रमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा बिद्युत लाईन बिस्तार गरिसक्ने लक्ष्य राखिएको अध्यक्ष थारु बताउँछन् ।