शिक्षाको लागि विश्वब्यापी कार्य सप्ताहको सन्दर्भमा बाँकेमा विविध कार्यक्रम


शिक्षाको लागि विश्वब्यापी कार्य सप्ताहको सन्दर्भमा बाँकेमा विविध कार्यक्रम

नेपालगन्ज २२ जेठ : शिक्षाको लागि विश्वब्यापी कार्य सप्ताह २०२३ को सन्दर्भमा बाँकेमा पनि विविध कार्यक्रम गरिएको छ ।

जयपृथ्वी नमुना सामुदायिक सिकाई केन्द्र नेपालगन्जको सहकार्यमा एनसिई नेपाल जिल्ला समिती बाँकेले जनप्रतिनीधिसँग अन्तरक्रिया, हस्ताक्षर संकलन र ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम गरेको हो ।

शिक्षाका लागि विश्वब्यापी कार्य सप्ताहको अवसरमा शिक्षालाई स्थानीय तहबाट कार्यक्रमा प्राथमिकता दिई बजेट बढाउने सम्बन्धमा नेपालगन्ज उपमहानगरपालिकाका मेयरसहितका पदाधिकारीसँग अन्तरक्रिया, स्थानीय तहका प्रमुखलाई विभिन्न सुझाव सहितको ज्ञापन पत्र बुझाउनुका साथै नेपाल सरकारलाई यथाशिघ्र संघीय सरकार शिक्षा ऐन जारी गर्न दवाव स्वरुप बाँकेका ५ वटा पालिकाबाट हस्ताक्षर संकलन गरिएको एनसिई नेपाल जिल्ला समिती बाँकेका अध्यक्ष तारा खनालले जानकारी दिए ।

‘निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा संभव छ’ भन्ने नारा सहित नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा अन्तर्राष्ट्रिय अनुदान र ऋण निर्भरता कम गर्दै जाउँ, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गरौं, आन्तरिक स्रोत परिचालन मार्फत शिक्षमा लगानी गरौं, प्रगतिशिल कर लागू गरौं, गणस्तरीय र सीपमुलक शिक्षा लागू गर्न प्रतिबद्ध होऔं लगायतका १४ बुँदे सुझाव पत्र बुझाईएको खनालले बताए ।

साथै शिक्षाको लागि विश्वब्यापी कार्य सप्ताह सन्दर्भमा एफएम रेडियोमार्फत सन्देशमुलक जिंगल प्रशारण र दुई सय बढि फेसबुक पेज तथा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रचार भएको अध्यक्ष खनालको भनाई छ । यो अभियानबाट जनप्रतिनीधि र जनस्तरमा शिक्षा बारे सचेतना बृद्धि हुनुका साथै गुणस्तरीय र ब्यावसायीक शिक्षको माग भईरहेको अध्यक्ष खनालले बताए ।