आनीका नियुक्ति विरोध गर्दा पक्राउ परेका दुईजना छुटे


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
आनीका नियुक्ति विरोध गर्दा पक्राउ परेका दुईजना छुटे

नेपालगन्ज। लुम्बिनी विकास कोषका पदाधिकारी नियुक्तिको विरोध गर्दै आएका अकरम खान र वाजिउद्दिन मुसलमानलाई प्रहरीले रिहा गरेको छ। सोमबार राति १० बजेतिर बिनाकारणै प्रहरीले उनिहरूलाई गिरफ्तार गरेको थियो।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले आनी छोइङ डोल्मालाई गरेको नियुक्ति विरोध गर्दै आएका उनिहरूलाई प्रहरीले छलफलपछि छोडेको हो। 

आनीको नियुक्ति विरोध गर्दै खान नेतृत्वको लुम्बिनी बचाऔं महाअभियानले केही दिनदेखि विरोधका कार्यक्रमहरू गर्दै आएको छ। सोमबारमात्रै उनिहरूले लुम्बिनीको पर्साचोकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेल गनेशको पुत्ला दहन गरेका थिए। त्यसपछि राति उनिहरूलाई प्रहरीले लगेको हो। सोमबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतको एउटा समूहले काठमाडौंको माइतीघरमा पनि प्रदर्शन गरेको थियो। 

रिहा भएपछि भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै खानले आफूलाई राति लगेर सामान्य स्वाथ्य जाँच गराएर थुनामा राखेको बताए। मंगलबार दिउँसो उनिहरूका अभियान्ताहरूसँगको छलफलपछि प्रहरीले उनिहरूलाई छोडेको हो। प्रहरीले उनिहरूलाई कुनै व्यक्तिको पुत्ला नजलाउने, उच्छृङ्खल गतिविधि नगर्नेलगायतका प्रतिवद्धताहरू गराएर छोडेको छ। 

‘हामी कतै भागेर जाने मान्छे होइनौं। सरकारले तर्साउन खोजेको छ। तर हामी पछि हट्दैनौं’ खानले भने ‘नियुक्तिको त विरोध गरिरहनेछौं खारेज नभएसम्म।’