नेपालगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टीले दसैं तिहार, नेपाल संवत् तथा छठ जस्ता पर्वका नाममा कुनै पनि जिन्सी उपहार वा नगद नलिन र नदिन कार्यकर्ताहरूलाई निर्देशन गरेकाे छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्ताे निर्देशन दिएका हुन्।
‘दशैंको आशिष, तिहारको भाइटीका र छठको अगाध आस्थाले बोक्ने साझा सन्देश निःस्वार्थ प्रेम र सद्भाव हो । चाडपर्वमा हुने भेटघाट र खुसी साटासाटको सुन्दरता पनि यही निःस्वार्थपनमा निहित छ । यसै यथार्थलाई मनन गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाकालदेखि नै शुभकामना आदानप्रदान गर्ने क्रममा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लिने–दिने कार्यलाई पूर्णतः निरुत्साहित गर्दै आएको छ । सधैँ झैँ हामी यही मान्यतामा अडिग छौँ र सम्बन्धित सबैमा यसको अनुसरणका लागि हार्दिक अपिल गर्दछौँ ’ उनले भनेका छन्।
उनले राजनीतिमा नागरिकको सद्भाव र विश्वास नै मुख्य कुरा भएको उल्लेख गर्दै भनेका छन्, ‘चाडपर्वमा हामी जसरी परिवार र आफन्तबाट केवल आशीर्वादको अपेक्षा गर्छौँ, त्यसरी नै राजनीतिमा पनि हाम्रा लागि नागरिक र अन्य सबैको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो ।’
रास्वपाले मर्यादित, सुसंस्कृत र भरोषायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ ।

रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई