नेपालगन्ज। बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालको मौसममा आउनसक्ने परिवर्तनसँगै उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ।
यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।
सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ।
त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ।
लुम्बिनीका सात जिल्ला प्रभावति हुनसक्ने
चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयलेसार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले उक्त मौसमी प्रणालीको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि सुरु हुने सम्भावना रहेको जनाएको छ। प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
यसबाट नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि अनुरोध गरिएको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना प्रणालीबाट प्राप्त जानकारी नियमित रूपमा लिन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह, जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे सवारी आवागमन रोक्न र त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ । प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायलाई जोखिमबारे नागरिकलाई सुसूचित गर्न तथा उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।
‘अरनब’ आँधीको प्रभाव : लुम्बिनीका सात जिल्लामा ‘अति जोखिम’
अम्बिकाले दिइन् लुम्बिनीका सभामुखसहित पाँच जनालाई जालसाजी र कीर्ते मुद्दा
आनीका नियुक्ति विरोध गर्दा पक्राउ परेका दुईजना छुटे
लुम्बिनीमा आनी छोइङ नियुक्तिको विरोध गरिरहेका दुई नेता मध्यरातमा गिरफ्तार
गुल्मीकाे कालिगण्डकी करिडाेरमा स्कर्पियाे खस्याे, छ जनाकाे मृत्यु
सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीको सानदार सुरुवात