नेपालगन्ज। प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्को पीडा, युवाहरू विदेशिनुपर्ने बाध्यता, आर्थिक अवस्था र सुशासनको विषयमा चर्चा गरेका छन्।
विगतका भूकम्प, महामारी तथा आन्दोलनपछिका असहज परिस्थितिको स्मरण गर्दै उनले यस वर्षको विपद्प्रति गहिरो दुःख व्यक्त गरे।
‘यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दशैं आइपुगेको छ । ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनातर्फ काम गरिरहेको छ’ उनले भनेका छन् ‘कुनै बेला विनाशकारी भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बीचमा पनि दसैँ आयो र गयो। अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दसैँ आयो। हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ।’
रोजगारीका लागि युवाहरू विदेशिनुपरेको तीतो यथार्थलाई औंल्याउँदै उनले चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गएको बताए।
उनले भने, ‘पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको छ। चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै परदेशमा रित्तो निधार लिएर बस्न बाध्य लाखौँ नेपालीहरूको नियति बदल्न हामी सबैको हातेमालो आवश्यक छ। सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ।’
दशैं कसैका लागि पनि आर्थिक बोझ बन्न नहुने भन्दै उनले नागरिकको आर्थिक सम्पन्नता र मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार अहोरात्र खटिरहेको बताए । आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गरी सभ्य र भव्य रूपमा दशैं मनाउन पनि उनले सबैमा आह्वान गरे।
दशैंलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको पर्वका रूपमा व्याख्या गर्दै उनले भनेका छन्, ‘विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादशैंले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् । आर्थिक गतिविधिका हिसाबले समेत बडादशैं नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि दसैँ मनाइने गरिन्छ। आसुरी प्रवृत्तिमाथि दैवी विजयको धार्मिक मान्यता बोकेको दसैँको अवसरमा म सम्पूर्ण नेपालीहरूमा सत्यको बाटोमा हिँड्ने अभिप्रेरणा मिलोस्, सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभभाव व्यक्त गर्न चाहन्छु।’
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना