नेपालगन्ज धार्मिक सद्भावको शहर: मन्त्री राई


नेपालगन्ज धार्मिक सद्भावको शहर: मन्त्री राई

नेपालगन्ज : संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगन्ज नगर धार्मिक सद्भावको शहर भएको बताएका छन् । सोमबार बिहान नेपालगन्जको ईदगाह मस्जिदमा ईदुल अजाह (बकर ईद) को अवसरमा सामुहिक नमाज पढेर बाहिर निस्कदै गर्दा सो कुरा बताएका हुन ।

शहरी विकास मन्त्री राईले एक दशक यता नेपालगन्जमा हिन्दू, मुस्लिम, शिख, ईशाई, बौद्ध धर्मलगायतका धार्मिक अगुवा तथा सामाजिक अभियन्ता, राजनीतिक दलका अगुवाले सबै धर्मको सम्मान गर्दै शुभकामना दिदै धार्मिक सद्भाव कायम राख्न सकेको कारण नेपालगन्जलाई धार्मिक सद्भावको शहरको रुपमा पहिचान बनाउन सफल भएको बताए ।

बकरइद मनाउन गृहनगर नेपालगन्ज आएका मन्त्री राईले मुलुकमा अमनचैन, शान्ति, सम्बृद्धीको कामना गर्दै पर्व मनाउन आग्रह गरेका छन । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक सोमबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व बुधबारसम्म मनाईने छ ।
रमदान महिनाभर उपवास बसी ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि बकरईद मनाईने चलन छ ।

नेपालगन्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा सोमबार बिहान ८ बजे बकराईद ईद–उल–अजाह को सामुहिक नमाज पढेर बकरा ईद मनाउन सुरु गरिएको हो । ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थानमा पुगेका थिए ।

बकरईदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगन्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता
जानवरको जोहो गरि सकेका छन् ।

भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।

अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सह–संयोजक समेत रहेका मुस्लिम धर्मगुरु मञ्जरीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग
गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको बताए ।

सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जो संग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक चलन रहेको छ ।