नेपालगन्ज : साउनको अन्तिम सोमबार नेपालगन्जको जुँगे महादेबमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड रहेको छ । हिन्दू समुदायले साउन महिनालाई बिशेष महत्वको रुपमा लिदै शिवको आराधना गर्ने हुँदा सोमबार विशेष भएको हो ।
साउन महिनाको सोमबार ब्रत बसेर बोल बमको कावारियाँले नजिकको नदीबाट जल ल्याई महादेवको पुजा गरेमा पुण्य पाईने जनविश्वासको आधारमा विश्वमै नेपालगन्जमा मात्र रहेको जुँगे महादेवको पुजा अर्चना गरिएको हो ।
साउनको अन्तिम सोमबार नेपालगन्जदेखि करिव ९ किलोमिटर पूर्वमा रहेको राप्ती नदीसम्म पैदलै हिडेर स्नान गरी त्यहाबाट ल्याईएको जलले जुँगे महादेवको पुजा गर्ने चलन रहेको छ ।
साउन महिनाको अन्तिम सोमबार, साउने सोमबारको व्रत बसेका भक्तजनहरु नजिकको शिव मन्दिरमा पूजाआजा गरेर व्रत समापन गरिन्छ । हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् । महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एकमहिने व्रत समापन हुने जानकार बताउँछन् । नेपालगन्जको बागेश्वरी मन्दिरमा सोमबार विहानै देखि पुजा गर्नेको घुईचो लागेको थियो । साउन महिनाको हरेक सोमबार व्रत बसेका भक्तजनले व्रत समाप्त गर्दछन् ।