अलपत्र प्रहरीको साइकल गस्ती


अलपत्र प्रहरीको साइकल गस्ती

नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगन्जको घरदैलो अभियान अन्तर्गत ‘साईकल गस्ती’ अलपत्र परेको छ ।  वडा प्रहरी प्रमुखमा राजन गौतम हुँदा शुरु गरिएको उक्त अभियान उनको सरुवासँगै अलपत्र परेको हो । त्यसपछि नारायण डाँगी र अहिले हरि बस्नेत वडा प्रहरी प्रमुख भइसक्दा कसैलेपनि उक्त अभियानलाई निरन्तरता दिने बारे चासो देखाएका छैनन् ।

घरदैलो ‘साइकल गस्ती’का कारण न्यायका लागि प्रहरीसम्म पुग्न सकेका नागरिक अभियान अलपत्रसँगै उनीहरु प्रहरीको पहुँच बाहिर गएका छन् । अभियानअन्तर्गत खटिएका प्रहरी गाउँगाउँ पुग्थे साइकल चलाउँदै । घरघर छिर्थे परिवारका मान्छेसँग भेटघाट र भलाकुसारी गर्थे ।

केही नभए पनि सन्चो –बिसन्चो सोध्र्थे । केही समस्या भए प्रहरीलाई फोन गर्नुहोला भन्दै ती प्रहरीले नम्बर छाड्थे । यसले आमनागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर भएको थियो । नागरिकको सिधै प्रहरीसम्म पहुँच विस्तार भएको थियो ।

त्य अवस्थामा वडा प्रहरी कार्यालयले दैनिक छ जना प्रहरीलाई साइकल गस्तीमा पठाउने गरेको थियो । एकजना असईको कमान्डमा एकजना महिला प्रहरीसहित साइकलबाट गस्ती गर्ने प्रहरी टोलीले आमनागरिकको घर÷घरमा पुगेर प्रहरीप्रतिका गुनासा, चौकीमा आउन नसकेका मुद्दा समेत टिपेर ल्याउँने गरेका थिए ।

तर, अहिले उक्त अभियानलाई निरन्तरता दिन नसक्दा नेपालगन्ज उपमहानगरपालिका बाहिरका भित्रैका वडामा रहेका नागरिक समेत प्रहरीको पहुँचमा आउन सकेका छैनन्।

यता वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले विगतमा यो अभियान रोकिएपनि आगामी दिन यसलाई निरन्तरता दिने तयारी गरेको बताए ।