एक विओपीः १३ किलोमिटर जिम्मेवारी, जनशक्ति अभाव
फाईल तस्विर: सेतोखरी
नेपालगन्ज : बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपाल–भारत जोड्ने साना ठूला सडक छन् । जसमध्ये कुनै मुख्य नाका छन् । कुनै छोटी नाका छन् । बाँकेमा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् । तर, पर्याप्त छैनन् । जसका कारण सीमामा सुरक्षा चुनौती छ ।
सीमामा सशस्त्र प्रहरीको उपस्थिति पनि न्यून छ । यसले सीमा क्षेत्रमा प्रभावकारी गस्ती र सीमा अपराध नियन्त्रणमा समस्या आइरहेको सशस्त्र प्रहरी बताउँछ ।
सरकारले सीमा सुरक्षाका लागि नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ । सीमा सुरक्षासँग धेरै कुरा जोडिन्छन् । सीमामा हुने सबै प्रकारका अपराधसँगै हरेक गतिविधिको निगरानी सशस्त्र प्रहरीले गर्छ ।
भारतले पाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बलले पोष्ट खडा गर्दा नेपालतिर त्यस्तो मापदण्ड छैन । तराईसँग सीमा जोडिएका सीमा क्षेत्रको प्रत्येक पाँच किलोमिटरमा भारतीय सीमा सुरक्षा बलका पोष्ट छन् । तर, त्यही क्षेत्रमा नेपालतर्फ ३० किलोमिटरमा मुस्किलले एउटा पोष्ट भेटिन्छ । सुरक्षाकर्मीको पनि त्यस्तै अभाव छ ।
‘गस्ती होइन, पोष्ट कुर्दैमा ठिक्क छ,’ एक सशस्त्र प्रहरीले भने । नेपालमा एउटा विओपीले कम्तीमा १३ किलोमिटरको दूरी हेर्नुपरेको सीमा सुरक्षा बल ३० नम्बर गणका गणपति दीपक अधिकारीले बताउँछन् ।
बाँकेमा कटकुँइया, नरैनापुर, गंगापुर, कालाबन्जार र बढैयामा सशस्त्र प्रहरी पाँच वटा विओपी रहने भनिएको थियो । तर, अहिलेसम्म दुई वटा केही स्थापना भएका छन् । बाँकी तीन वटा हालसम्म पनि स्थापना हुन सकेका छैनन् ।
नेपालतर्फ सशस्त्र प्रहरीको पातलो गस्तीले अवैध सामानको चोरी पैठारी रोक्न तथा सीमा अपराध नियन्त्रण गर्न समस्या भएको छ । स्थापना गरिएका विओपीमा पनि पर्याप्त जनशक्ति नहँुदा समस्या छ ।
उपलब्ध जनशक्तिले सीमा क्षेत्रको गस्ती, सीमा सुरक्षाका साथै सीमावर्ती अपराध नियन्त्रणमा भूमिका निर्वाह गर्दै आइरहेको उनको दावी छ । उनले भने, ‘सीमा
सुरक्षासँगै जिल्लाको शान्ति सुरक्षा कायम राख्ने कार्यमा समेत सशस्त्र दिनरात खटिएको छ ।’ उनले नाकामा नेपाल र भारतको संयुक्त गस्ती निरन्तर भइरहेको बताए ।
सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने, ‘एउटा सशस्त्र प्रहरीको पोष्टमा ३० जना हाराहारीमा जनशक्ति रहन्छ । ती मध्ये केही विदामा गएका हुन्छन् । केहीले भित्रै काम गर्नुपर्छ । १५/१६ जनाले बाहिरी रेखदेख गर्नुपर्छ । एउटा पोष्टदेखि अर्को पोष्टसम्म गस्ती गर्न निकै चुनौति छ ।’ भारततर्फको सीमामा एसएसबीले झण्डै तीन हजार जनशक्ति तैनाथ गरेको छ ।
तीनदेखि पाँच किलोमिटर दूरीमा एसएसबीको एउटा पोष्ट छ । प्रतिकिलोमिटर औसतमा २५ जना सुरक्षाकर्मी तैनाथ छन् । नेपालतर्फ प्रतिकिलोमिटर औसतमा चार जनासम्म खटाइएको छ । सीमित मात्रामा पोष्ट रहेको र औसत ३० किलोमिटरको दूरीमा एउटा पोष्ट र प्रतिकिलो मिटर चार जना जनशक्ति परिचालित गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले नेपालमा कम्तीमा पाँच किलोमिटरको दुरीमा पोष्ट राख्ने योजना भइरहेको बताउँदै पाँच किलोमिटरको दुरीमा पोष्ट राख्ने योजना बनाएको बताए ।
उनले भने, ‘कहाँ–कहाँ राख्न सकिन्छ, हामी योजना बनाउँदैछौं । पाँच किलोमिटरको दूरीमा विओपी राख्न सकेमा नाकाको निगरानी चुस्त हुन्छ ।’ सशस्त्र प्रहरीको पोष्ट बढाउँदा जनशक्ति र स्रोत साधन थप गर्नुपर्ने उनको भनाई छ । तर, थोरै दूरीमा विओपी राख्दा थोरै जनशक्तिले पनि काम गर्न सक्ने उनको तर्क छ । सीमा नजिक स्थापना गर्नुपर्ने सीमा सुरक्षा कार्यालय र बोर्डर पोष्ट पनि केही ठाउँमा सीमाभन्दा निक्कै टाढा भएकाले सशस्त्र प्रहरी परिचालनमा समस्या भइरहेको उनको भनाई छ ।
कतिपय ठाउँमा जग्गा र उपयुक्त ठाउँको अभावमा टाढा हँुदा गस्तीमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीको भनाई छ । जनशक्ति अभावमा सशस्त्र प्रहरी मुख्य नाकामा रहेका भन्सारमा मात्र सीमित छन् । सीमावर्ती क्षेत्रका भन्सार कार्यालयमा अवैध चोरी पैठारी नियन्त्रण गरी राजस्व संकलन बढाउन सशस्त्र प्रहरी खटिएको छ ।
संयुक्त गस्तीले आपराधिक गतिविधि र चोरी तस्करी रोकिएको उनले बताए । बाँकेको खुला सीमाबाट दुवैतर्फ चोरी, तस्करी हुने गरेको छ । त्यस्तै पूर्वपश्चिम
राजमार्गमा सशस्त्र प्रहरीका तीन वटा युनिट छन् । कुसुम, सम्शेरगन्ज र खैरीखोला युनिटले राजमार्गको सुरक्षा दिएको छ ।