सर्पको डसाइ, गरीबको समस्या, सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा

बर्षेनी ३७ हजार बढीलाई सर्पले टोक्छ, ३ हजारको मृत्यु


सर्पको डसाइ, गरीबको समस्या, सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा

१४ साउन, नेपालगञ्ज : युनिभर्सिटी अफ जेनेभा, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनका ६ जना चिकित्सकले सन् २०२२ मा प्रकाशित ‘स्नेक बाइट एपिडेमियोलोजी इन ह्युमन एण्ड डोमेस्टिक एनिमल अक्रस द तराई रिजन इन नेपाल : अ मल्टी क्लस्टर र्‍यान्डम सर्भे’ ले ‘तराईका २३ जिल्लामा वार्षिक रूपमा ३७ हजार ६६१ वटासम्म सर्पदंश (सर्पले डस्ने) का घटना हुने र ३ हजार २२५ जनासम्मको मृत्यु हुने गरेको’ देखाएको थियो ।
‘ल्यान्सेट जर्नल’ मा प्रकाशित यस सम्बन्धी लेखका अनुसार, नेपालमा हरेक वर्ष सर्पदंशका २६ हजार ७४९ देखि ३७ हजार ६६१ सम्म घटना हुन्छन् । ती घटनामा २ हजार ३८६ देखि ३ हजार २२५ जनासम्मको मृत्यु हुने गर्छ । त्यसो त सर्पको डसाइमा परेर गाउँघरमै मृत्यु हुने धेरै विवरण अभिलेखसम्म आइपुग्दैनन् ।

सर्पदंश मामिला हेर्ने स्वास्थ्य मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको जुनोटिक शाखा प्रमुख डा. हेमन्त ओझाका भनाइमा, आर्थिक वर्ष २०७५/७६ देखि सर्पदंशमा परेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढ्दो क्रममा छ ।

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार सर्पदंशको सबैभन्दा धेरै प्रकोप लुम्बिनी प्रदेशमा देखिएको छ । यो वर्ष लुम्बिनी प्रदेशमा ३ हजार २२, कोशी प्रदेशमा १ हजार ५५२, मधेश प्रदेशमा १ हजार ४३८ र गण्डकी प्रदेशमा १ हजार ३३५ जना सर्पको डसाइमा परेर उपचारका लागि अस्पताल तथा उपचार केन्द्रमा पुगेका थिए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सर्पदंशको प्रकोप कम देखिएको छ । २०७८/७९ मा कर्णालीमा १५१, सुदूरपश्चिममा १८० जना सर्पको डसाइमा परेको तथ्याङ्क छ । डा.ओझाका अनुसार, सर्पदंशको उपचार ३१ जिल्लाका ८८ उपचार केन्द्रबाट हुने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

ती बाहेक सरकारी अस्पतालमा पनि सर्पदंशको उपचार हुन्छ । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष करिब २ हजार भाइल ‘एन्टीस्नेक भेनम’ भारतबाट खरिद गरेर सर्पदंश उपचार केन्द्र र सरकारी अस्पतालहरूलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

तर, व्यवहारमा ठूलो समस्या छ । संस्थाहरूमा पर्याप्त मात्रामा एन्टीस्नेक भेनम छैन, जनशक्ति अभाव छ र आवश्यक पूर्वाधारहरू छैनन् । अनि विपन्नहरूका लागि यो उपचार धेरै नै महँगो छ । यसैले मानिसहरू विवश भएर घरमै मृत्यु कुर्न र धामीझाँक्रीकहाँ जान बाध्य छन् ।

सर्पदंशको उपचारमा संलग्न भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. कृष्ण आचार्यका अनुसार, विषालु सर्पको प्रजाति अनुसार, मानिसमा आधा घन्टादेखि १०/१२ घन्टासम्ममा विष फैलिन्छ । पेट दुख्ने, बान्ता हुने, सास फेर्न गाह्रो हुने यसका मुख्य लक्षणहरू हुन् । यी लक्षण देखिएका बिरामीलाई जति सक्दो चाँडै अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्‍याउनुपर्छ ।

डा. आचार्यका भनाइमा, सर्पले टोकेको एक घन्टाभित्र बिरामीलाई अस्पताल पुर्‍याउन सके बचाउन सक्ने संभावना ९० प्रतिशत भन्दा धेरै हुन्छ । त्यसैले चिकित्सकहरूले सर्पले टोकेपछिको एक घन्टाको अवधिलाई उपचारका लागि ‘गोल्डेन आवर’ भन्ने गरेका छन् ।

तर, नेपाली समाजको आम प्रचलन योभन्दा भिन्न छ । सर्पले टोकेपछि तुरुन्तै अस्पताल नलगेर झारफुक गर्नेतिर लाग्ने र बिरामी सिकिस्त भएपछि मात्रै अस्पताल लैजाने प्रवृत्ति छ । यसो गर्दा धेरैजसो बिरामीको बाटैमा मृत्यु हुने गर्छ । ‘ल्यान्सेट जर्नल’ मा प्रकाशित सो अध्ययनका अनुसार, ‘नेपालमा सर्पको डसाइबाट ज्यान गुमाउनेमध्ये करिब ८० प्रतिशतको उपचारका लागि लैजाँदा बाटैमा मृत्यु हुने गर्छ ।’

‘नेपालमा चिकित्सकीय महत्वका सर्पहरू र सर्पदंश व्यवस्थापन’ पुस्तकका लेखक सर्पदंश विशेषज्ञ डा. छविलाल थापाका भनाइमा, ‘सर्पले टोकेपछि के गर्ने, उपचारका लागि कहाँ लैजाने भन्ने जानकारी अझै समुदायसम्म राम्रोसँग पुगेको छैन ।’

उनका भनाइमा, नवलपरासीको कालीगण्डकी अस्पताल बाहेक नेपालका कुनै पनि निजी अस्पताल, क्लिनिक, मेडिकल कलेजमा सर्पले टोकेका बिरामीको उपचार हुँदैन ।

सर्पले डसेका कारण गरिब तथा विपन्न नागरिकले खेप्नु परेको पारिवारिक पीडा र आर्थिक भारतिर सरकारको ध्यानै पुगेको छैन । सर्पले टोकेर गरिब झनै गरिब बन्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।
जिल्ला अस्पतालहरूमा सुविधा नहुँदा सर्पको डसाइमा परेका प्युठान, दाङ, बर्दिया, कैलालीका बिरामीहरू उपचारका लागि घन्टौं यात्रा गरेर नेपालगञ्जको भेरी अस्पताल पुग्ने गरेका छन् । समयमा अस्पताल नपुगेर बिरामीको बाटैमा मृत्यु भएका धेरै उदाहरण छन् ।

५ असार २०८० मा प्युठानमा यस्तै एउटा घटना भएको थियो । प्युठान नगरपालिका–४ हल्ली खोलाका १३ वर्षीय अभिशेष नेपालीलाई सर्पले टोकेको १० मिनेटभित्रै उनका आफन्तले जिल्ला अस्पताल बिजुवारमा पुर्‍याएका थिए । अस्पतालमा चिकित्सक थिए र एन्टीस्नेक भेनम पनि थियो ।

तर, अस्पतालमा सेवामा रहेकी चिकित्सकले सर्पले टोकेका बिरामीको उपचार सम्बन्धी तालिम नलिएको भनेर उपचार नै सुरु नगरी दाङको लमही रेफर गरिन् । विष फैलिएर अभिशेषको बाटैमा मृत्यु भयो ।

तालिमप्राप्त स्वास्थ्यकर्मी तथा चिकित्सकले सर्पले टोकेका बिरामीमा देखिएको लक्षण र स्वास्थ्य अवस्थाका आधारमा ‘एन्टीस्नेक भेनम’ लगायत अत्यावश्यक औषधि दिएर उपचार सुरु गर्छन् । त्यसपछि बिरामीको अवस्था हेरेर सास फेर्न सहज होस् भनेर घाँटीमा पाइप राखिदिने, आईसीयूमा भर्ना गर्ने, भेन्टिलेटरमा राखेर उपचार गर्ने जस्ता उपाय अवलम्बन गरिन्छ ।

सरकारले सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम निःशुल्क उपलब्ध गराए पनि उपचारका लागि आवश्यक पर्ने अन्य औषधि, अक्सिजन, आईसीयू, भेन्टिलेटर र डायलासिस गर्दा लाग्ने खर्च बिरामी आफैंले तिर्नुपर्छ ।

विषालु सर्पले टोकेको एक जना बिरामीको उपचारमा कम्तीमा एक लाख रुपैयाँ माथि नै खर्च हुने उपचारमा संलग्न भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा.कृष्ण आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘सर्पको डसाइ गरिबको स्वास्थ्य समस्या हो भन्ने सोचाइ हाम्रा नीतिनिर्मातामा कम छ । सर्पले डसेका कारण गरिब तथा विपन्न नागरिकले खेप्नु परेको पारिवारिक पीडा र आर्थिक भारतिर सरकारको ध्यानै पुगेको छैन । सर्पले टोकेर गरिब झनै गरिब बन्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।’

आचार्यका भनाइमा, वर्षमा करिब ४० हजार परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने, करिब ३ हजारको ज्यान जाने देशको जनस्वास्थ्यको ठूलो समस्या हो । तर स्वास्थ्य मन्त्रालय, देशका राजनीतिक दलहरू र आमसंचारमाध्यमको समेत यसमा पर्याप्त मात्रामा ध्यान गएको छैन ।

स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्ने हो भने गत वर्ष ९२६ जना व्यक्ति विषालु सर्पले टोकेर अस्पताल पुगेका थिए । यसरी अस्पताल पुग्ने बिरामीको उपचारमा कम्तीमा पनि एक लाख रुपैयाँ माथि खर्च हुन्छ । साँझ–बिहान हात–मुख जोड्न मुस्किल हुने परिवारका लागि यो धेरै ठूलो रकम हो ।

हुन पनि जंगलको किनारमा, कच्ची घरमा बस्ने गरिब तथा विपन्न परिवारका मानिसहरू सर्पको टोकाइबाट धेरै प्रभावित छन् । सर्पले टोकेर छोराको उपचार गर्न नेपालगञ्ज आएका दैलेख दुल्लुका हेमलाल आचार्यले भने, ‘पहुँच नहुने र सबै आफैंले खर्च गर्नुपर्ने हो भने त ५/७ लाख नै लाग्दो रहेछ ।’

इण्डिया कमाउन हिंडेका दैलेख दुल्लुका माधव आचार्यलाई ३१ जेठ २०८० मा बाँकेको कोहलपुरमा आफन्तको घरमा राति सुतेको बेला करेत सर्पले टोकेको थियो । उनले कोहलपुरको मेडिकल कलेज र भेरी अस्पतालमा गरेर १७ दिन उपचार गराए । उनलाई ७ दिन त भेन्टिलेटरमा र १० दिन आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । भेरी अस्पतालले बेड चार्ज र औषधि निःशुल्क दिंदा पनि उनको उपचारमा २ लाख ५० हजार रुपैयाँ खर्च भयो ।

भेरी अस्पतालका सर्पदंश रोग विशेषज्ञ डा. आचार्यका अनुसार भेरी अस्पतालमा आईसीयू चार्ज दैनिक १२०० रुपैयाँ छ । भेन्टिलेटरको ५ हजार र अक्सिजन मात्रै दिएर राख्दा करिब २५०० रुपैयाँ खर्च लाग्छ । औषधि समेत जोड्दा एउटा सिकिस्त बिरामीको उपचारमा दैनिक करिब १० हजार रुपैयाँ खर्च हुन्छ । त्यसमा पनि सर्पको विष फैलिएर मिर्गौलाले काम गर्न छाडेको बिरामीलाई डायलासिस गराउनु पर्दा एक पटकको थप ६ हजार रुपैयाँ लाग्छ ।

उपेक्षित सूचीमा गरीबको समस्या

जनस्वास्थ्य अभियन्ता डा. जीवन क्षेत्रीका भनाइमा नेपालमा स्वास्थ्य क्षेत्र नै सरकारबाट उपेक्षित छ । स्वास्थ्य क्षेत्रले पनि उपेक्षित सूचीमा राखेको सर्पदंशको अवस्था कस्तो होला ? हामी आफैं अनुमान गर्न सक्छौं ।

अभियन्ता क्षेत्रीको विश्लेषणमा, सर्पदंशको जोखिममा रहेका नागरिक गरिबीका कारण साँझ–बिहान हातमुख कसरी जोर्ने भन्ने समस्याले थिचिएका हुन्छन् । उनीहरू आफैं नीतिनिर्माताका अगाडि आएर आफ्ना समस्या राख्न सक्दैनन् । त्यसैले सर्पदंशको समस्याका कारण नागरिकले भोग्नुपर्ने पारिवारिक तथा आर्थिक पीडाका बारेमा नीतिनिर्माताहरू संवेदनशील छैनन् ।

तर, स्वास्थ्य मन्त्रालयका सर्पदंश फोकल पर्सन डा. ओझा यसमा सहमत छैनन् । उनी भन्छन्, ‘सरकारले एन्टीस्नेक भेनम निःशुल्क उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई तालिम दिने, रेडक्रस र रोटरी क्लबसँग सहकार्य गरेर जनचेतना अभिवृद्धि गर्ने काम गरिरहेको छ । सरकारले साधन, स्रोतले भ्याएसम्म गरेकै छ । पर्याप्त नहोला तर सरकारले चासै दिएन भन्न चाहिं मिल्दैन ।’

अभियन्ता डा. क्षेत्रीका भनाइमा, सरकारले जे–जस्तो बचाउ गरे पनि आज पनि सर्पको डसाइमा परेका गरीब तथा विपन्न नागरिक अस्पताल नगएर धामीझाँक्रीकोमा जान विवश छन् । यसको छुट्टै अध्ययन हुन जरूरी छ ।

जस्तो कि करेत सर्पले टोकेको बिरामीको उपचारमा एक लाख रुपैयाँ भन्दा धेरै खर्च लाग्छ । यो खर्च जुटाउन खेतबारी नै बेच्नुपर्ने अवस्था आउन सक्छ । उपचार गराउने पैसाको जोहो गर्न नसक्दा उनीहरू अस्पताल जान हिच्किचाउँछन् । डा. क्षेत्री भन्छन्, ‘सरकारले सर्पदंशका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउन थाल्यो भने धामीझाँक्रीकोमा गएर ज्यान गुमाउने संख्या घट्न थाल्छ ।’

हुन पनि विषालु सर्पले टोकेका बिरामीहरूको उपचारका लागि आईसीयू, भेन्टिलेटर र क्रिटिकल केयर गर्ने विशेषज्ञ चिकित्सक सहितको सेवा चाहिन्छ । अहिले पनि देशका अधिकांश सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटर सहितको विशेषज्ञ सेवा पुगेको छैन । सुविधा पुगेका सरकारी अस्पतालमा पनि आईसीयू बेड नै पाउन मुस्किल पर्छ ।

डा. क्षेत्रीको भनाइमा सर्पदंशको जोखिम भएका क्षेत्रका बासिन्दालाई स्थानीय सरकारले निःशुल्क बीमा गरिदिएर पनि सहयोग गर्न सक्छन् । स्वास्थ्य बीमा भएका व्यक्तिलाई सर्पले टोकेको अवस्थामा औषधि उपचार गराउँदा बीमाले सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाउँदा सर्पको डसाइबाट हुने मृत्यु पनि घट्छ र परिवारका सदस्यले खेप्नुपर्ने आर्थिक बोझ पनि कम हुन्छ ।

तर, सर्वसाधारणले कस्तो अवस्था भोग्नुपर्छ भन्ने थाहा पाउन तलका केही उदाहरण हेरौं–

– ६ असार २०७३ मा बाँकेको खजुरा गाउँपालिका बिउ गाउँकी ६ वर्षीया सुदीक्षालाई आमासँगै राति सुतिरहेका बेला करेत सर्पले टोक्यो । उनलाई भेरी अस्पताल नेपालगञ्ज पुर्‍याइयो । चिकित्सकहरूले एन्टीस्नेक भेनम दिएर उपचार सुरु गरे । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो । दुई दिन भेरीमा राखेपछि भेरीकै चिकित्सकहरूको सल्लाहमा सुदीक्षालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको एनआईसीयूमा भर्ना गरियो । झन्डै एक महिना उपचारपछि सुदीक्षा निको भएर डिस्चार्ज भइन् ।

सुदीक्षाको उपचारमा भेरी र शिक्षण अस्पतालमा गरेर झन्डै तीन लाख रुपैयाँ खर्च भयो । विपन्न परिवारकी सुदीक्षाका आमा–बुवाले आफन्त र छिमेकीसँग महिनाको ३ प्रतिशत ब्याजमा ऋण लिएर अस्पतालको पैसा तिरे । ‘छोरीलाई सर्पले टोकेको ७ वर्ष भइसक्यो, उपचारका लागि लिएको ऋण र त्यसको ब्याज अझै तिर्न बाँकी नै छ’ आमा सुनिता थापा भन्छिन्, ‘ऋण तिर्ने रकम जोहो गर्न श्रीमान् भारतको लद्दाख जानुभएको छ ।’

सर्पदंशको उच्च जोखिम भएका क्षेत्रमा सर्पको टोकाइबाट जोगिन सचेतनाको खाँचो देखिन्छ । अनि सर्पले टोकेमा सहज रूपमा उपचारका लागि स्वास्थ्य बीमाबाट अभियान सुरु गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।
– २५ असार २०८० मा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ कपासीका दाजुभाइ १२ वर्षीय दीपक भुसाल र ९ वर्षीय प्रदीप भुसाललाई हजुरआमासँग सुतेका बेला राति करिब १ बजेतिर सर्पले टोक्यो ।

आफन्तले बिहान साढे ३ बजे दुवैलाई गोरुसिंगेको बुद्ध पोलिक्लिनिक पुर्‍याए । प्रदीप बेहोश भइसकेका थिए । सर्पले टोकेको शंका गरेर सर्पदंश उपचार केन्द्रमा लैजान स्वास्थ्यकर्मीले सुझाव दिए पनि आफन्तले फर्काएर घर लगे । झन् सिकिस्त देखिएपछि छिमेकीले बिहान ७ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पुर्‍याए । त्यहीं दाजु–भाइकै ज्यान गयो ।

मृतक दाजुभाइको घरदेखि सर्पदंश उपचार केन्द्र करिब ५ किलोमिटर दूरीमा थियो । समयमै उपचार केन्द्रमा नपुर्‍याउँदा दाजुभाइकै मृत्यु भएको केन्द्रका प्रबन्धक नवीन भण्डारी बताउँछन् ।

-२५ असार २०८० मै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका १४ वर्षीय ममता चमारको सर्पको टोकाइमा परेर मृत्यु भयो । गोरुसिंगेको सर्पदंश उपचार केन्द्रबाट करिब १५ किलोमिटर दूरीमा भए पनि उनीहरू त्यहाँ ढिलो गरी पुगेका थिए । दुवै जनालाई गोमन सर्पले टोकेको अनुमान केन्द्रका प्रबन्धक भण्डारीको छ । उनीहरूमा पेट दुख्ने, थुक निल्न गाह्रो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्ने जस्ता लक्षण देखिएको थियो । उपचार गर्न सक्ने क्षमता र चेतना विकास नगर्ने हो भने सर्पदंश उपचार केन्द्र नजिकै भएर मात्रै केही हुन्न भन्ने यसले देखाउँछ ।

– २० असार, २०८० राति बर्दियाको राजापुर ९ का १७ वर्षीय प्रितम थारू सर्पको डसाइमा परे । प्रितमलाई राति ९ बजेतिर नजिकै खेतमा गएका बेला सर्पले टोक्यो । खेतबारी, मेलापातमा काम गर्ने मानिसहरू रसेल्स भाइपर सर्पको टोकाइमा पर्ने जोखिम धेरै हुन्छ । यति विषालु सर्पले टोके पनि प्रितम करिब १२ घन्टापछि मात्रै सिकिस्त अवस्थामा भेरी अस्पताल पुगेका थिए । शरीरमा विष फैलिएर उनका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए । भेरी अस्पतालको आईसीयू वार्डमा भर्ना गरेर दैनिक डायलासिस गरेर उपचार गर्ने क्रममा २३ गते दिउँसो १ बजे उनको मृत्यु भयो ।

– १६ जेठ २०८० सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा आफ्नी आमासँगै सुतेका बेला बिहान करिब ३ बजेतिर १३ वर्षीय ग्रिस पहाडी र उनका तीन वर्षीय भाइ ग्रिस्म पहाडीलाई सर्पले टोक्यो । छोरा छट्पटाउन सुरु गरेपछि आमा गंगाले थाहा पाइन् । त्यसपछि दुवै छोराहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगियो । सिर्थौलीमा उपचार हुन नसक्ने भन्दै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले जानकी हेल्थ केयर जनकपुर रेफर गरिदिए । बिहान ८ बजे उनका दुवै छोराको मृत्यु भयो ।

सर्पको डसाइमा परेर अस्पताल भर्ना भएका बिरामीको उपचारमा प्रयोग हुने अधिकाश औषधि, बेड चार्ज, भेन्टिलेटर लगायत परीक्षणहरू गर्दा लाग्ने शुल्क स्वास्थ्य बीमाबाट कभर हुने भेरी अस्पतालकी नर्सिङ अधिकृत एवं बीमा फोकल पर्सन मेनका शाहीले बताइन् । तर, अधिकांश सर्पको डसाइमा परेका बिरामीहरूको स्वास्थ्य बीमा नै हुँदैन । बीमा नहुँदा उनीहरूलाई उपचार खर्च जुटाउन हम्मे–हम्मे पर्ने गरेको छ ।

सर्पदंशको उच्च जोखिम भएका क्षेत्रमा सर्पको टोकाइबाट जोगिन सचेतनाको खाँचो देखिन्छ । अनि सर्पले टोकेमा सहज रूपमा उपचारका लागि स्वास्थ्य बीमाबाट अभियान सुरु गर्नुपर्ने सुझाव विज्ञहरूको छ । सामुदायिक वन, गाउँपालिकाहरूले स्वास्थ्य बीमामा लाग्ने शुल्क तिरिदिएर पनि जोखिममा रहेका गरिब तथा विपन्न नागरिकहरूलाई सहयोग गरिदिन सक्छन् ।

जानकारहरूका भनाइमा, महिनावारी भएका र सुत्केरी महिला सर्पको डसाइमा धेरै पर्ने गरेका छन् । महिनावारी हुँदा घरभित्र र बेडमा सुत्न हुँदैन भन्ने मान्यताका कारण महिलाहरू घरको आँगन, गाईबस्तु बाँध्ने गोठ र कतिपय ठाउँमा छाउगोठमा समेत सुत्न विवश हुन्छन् ।

जेठ दोस्रो साता महिनावारी हुँदा घर बाहिर बरण्डामा सुतेकी कैलाली सुख्खडकी १५ वर्षीया हेमन्ती जोशी सर्पको टोकाइमा परिन् । उनलाई सेती अस्पताल धनगढीमा पुर्‍याइयो । उपचार गराउँदा गराउँदै एक हप्तापछि उनको मृत्यु भयो । उपचार खर्च जुटाउन उनका आफन्तहरूले हेमन्तीको अस्पताल भर्ना भएको फोटो सहितको विवरण फेसबुकमा राखेका थिए ।

अर्को समस्या भनेको पीडितले समयमै एम्बुलेन्स समेत पाउँदैनन् । पाइहाले पनि सर्पदंशको उपचार हुने उपयुक्त अस्पताल कुन हो भन्ने थाहा हुँदैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका विज्ञहरूले सन् २०१९ र २०२० मा गरेको यस सम्बन्धी अध्ययनले सर्पदंशबाट हुने मृत्युमध्ये ४० प्रतिशतको गाउँघरमै मृत्यु हुने गरेको देखाएको छ ।

अध्ययन अनुसार, बाँकी ४० प्रतिशतको उपचारका क्रममा अस्पताल लैजाँदा लैजाँदै बाटैमा र करिब २० प्रतिशतको चाहिं अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु हुन्छ । सो अध्ययनले नेपालमा सर्पदंश एउटा प्रमुख जनस्वास्थ्य समस्या भएको उल्लेख गरेको थियो ।

१९ करोड खर्च : उत्पादनको टुंगो छैन

नेपालमै एन्टीस्नेक भेनम (एएसभी) उत्पादन गर्ने भनेर २०७१ सालमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भयो । पूर्व प्रधानमन्त्री खनालकै पहलमा संघीय सरकार र मधेश प्रदेश सरकारबाट प्रतिष्ठानले करिब १९ करोड रुपैयाँ अनुदान पनि पायो ।

अनुदान रकम पाएपछि प्रतिष्ठानले ७ करोड रुपैयाँ खर्च गरेर लालबन्दी नगरपालिका–१ मा करिब १० बिघा जग्गा खरिद गर्यो। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ दिने सम्झौता पनि भयो ।

सरकारले खनालको सर्प पालन केन्द्रका लागि ७२ करोड रुपैयाँ दिने भयो भनेर हल्ला फैलिएर सामाजिक संजालमा खनालको चर्को आलोचना भयो । सरकार परिवर्तन भएपछि नयाँ सरकारले सम्झौता रकम रोकी पनि दियो ।

यसरी सामाजिक सञ्जालमा चर्को आलोचना भएर सरकार र विदेशी दातृनिकायबाट अनुदान लगायत प्राविधिक सहयोग पाउन गाह्रो भएपछि २०७९ साउनदेखि यो प्रतिष्ठानको नाम नै परिवर्तन गरेर ‘राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्’ बनाइएको छ ।

दुई वर्षदेखि अनुदान रोकिएका कारण सर्प पालनका लागि फर्म हाउस, प्रयोगशाला, एकसय बेड क्षमताको अस्पताल र प्रशासनिक भवन निर्माणको काम रोकिएको प्रतिष्ठानका अध्यक्ष रेवती पन्त बताउँछन् ।

मधेश प्रदेश सरकारले १ असार २०८० मा ल्याएको बजेट वक्तव्यको ७१ नम्बर बुँदामा ‘एन्टी स्नेक भेनम उत्पादनका लागि सम्भाव्यता अध्ययन गरी लागत र लाभ समेतको विश्लेषणका आधारमा उपयुक्त देखिएमा चरणबद्ध रूपमा आवश्यक पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गर्ने’ उल्लेख छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सर्पदंश फोकल पर्सन डा. ओझाका अनुसार, नेपालमा वार्षिक रूपमा २० हजार भाइल एन्टीस्नेक भेनम आयात हुन्छ । यसलाई सर्पदंशको उपचार हुने देशैभरका अस्पताल र सर्पदंश उपचार केन्द्रमा पठाइन्छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति एवं सर्पदंश रोग विशेषज्ञ डा. सञ्जीवकुमार शर्माका अनुसार सर्पदंशका बिरामीको उपचारका लागि भारतबाट ल्याइएको एन्टीस्नेक भेनमले भारतमा जस्तो नेपालमा काम गर्दैन । भारतमा पाइने सर्पबाट निकालिएको कच्चा पदार्थबाट बनाइएको एन्टीस्नेक भेनम नेपालका सर्पले टोकेका बिरामीको उपचारमा दिंदा रियाक्सन हुने जोखिम धेरै हुन्छ ।

‘एउटा क्षेत्रमा पाइने सर्पबाट निकालिएको विषबाट बनाइने एन्टीस्नेक भेनमको प्रयोग अर्को क्षेत्रमा पाइने सर्पले टोकेका बिरामी उपचारमा प्रयोग गर्दा प्रभावकारिता कम हुन्छ’ शर्मा भन्छन्, ‘नेपालमै एन्टीस्नेक भेनम उत्पादन गर्न सके धेरै राम्रो हुन्थ्यो ।’

तर, सर्पको डसाइबाट यतिविघ्न जनधनको क्षति हुँदा पनि सरकारी उपेक्षा हदै टिठलाग्दो छ । प्राणीशास्त्री तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सर्प विशेषज्ञ समूहका सदस्य कमल देवकोटा भन्छन्, ‘सरकारले उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम उपलब्ध गराउने र स्वास्थ्यकर्मीहरूलाई तीनदिने तालिम दिने बाहेक थप काम गरेकै छैन ।’

देवकोटाका भनाइमा सरकारको मात्रै होइन, दातृ निकायको पनि प्राथमिकतामा छैन यो समस्या । उनी भन्छन्, ‘सर्पको डसाइलाई नेपालमा उपेक्षित स्वास्थ्य समस्याको सूचीमा राखिएको छ । सरकारको मात्रै नभएर किन हो दातृ निकायको पनि प्राथमिकतामा पर्दैन यो समस्या ।’ अनलाईन खबर डटकमबाट साभार