‘सपिङ कम्पलेक्स’ निर्माणको चौतर्फी बिरोध
नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर छेउमा निमार्ण गर्न लागिएको सपिङ कम्पलेक्स निमार्ण को कार्य तत्कालका लागि रोक्न शहरी विकास मन्त्रालयले विहीबार साँझ निर्देशन दिएको छ ।
पश्चिम नेपालको प्रशिद्ध शक्ति पिठ बागेश्वरी मन्दिर परिसरमा ब्यवसायिक सपिङ कम्पलेक्स निर्माण गर्न थालेपछि यसको चौतर्फी विरोध भएको थियो । यसको विरोधमा बाँकेका केही यूवाहरुले विहीबार दिउस शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईलाई मन्दिर परिसरमा निर्माण भइरहेको सपिङ कम्पलेक्सको निमार्ण कार्य रोक्न आग्रह गर्दै निवेदन पेश गरेका थिए ।
उक्त निवेदनमाथि टेकेर शहरी विकास मन्त्रालयले विहीबार साँझै बागेश्वरी मन्दिर व्यवस्थापन समितिलाई उक्त काम नगर्न निर्देशन सहितको पत्र पठाएको हो । मन्त्रालयले जिल्ला प्रसाशन कार्यालय बाँके, संघीय आयोजना कार्यान्वयन ईकाइ नेपालगन्ज लगायतका सम्बन्धित निकायलाई बोधार्थ समेत पठाएकोछ । मन्दिरसँगै जोडेर ब्यापारीक भवन निर्माण गर्न नहुँने भन्दै बाँकेका नागरिकले सामाजिक सञ्जाल फेसबुक, टिवट्र मार्फत व्यापक विरोध गरिरहेकाछन् ।
बागेश्वरी मन्दिर परिसरमा सपिङ् मल बनाउने होइन बरु मन्दिरको जग्गामा भएका सटर भत्काएर दर्शनार्थीलाई बस्ने बेन्च राख्नुपर्ने स्थानीय जयनारायण शाहले आफनो फेसबुक स्टाटसमा सुझाव दिएका छन् ।
खजुराका स्थानीय सतिश निरौलाले एउटा लेख नै लेखेर मन्दिरको सुन्दरता नमास्न आग्रह गरेका छन् । यस्तै तिर्थस्थलहरु सफा र सुन्दर पो हुनुपर्ने कपिल अधिकारी बताउँछन् । उनकाअनुसार व्यवसायका लागि अन्यत्र संरचना निर्माण गर्दा राम्रो हुन्छ ।
बागेश्वरीमा सपिङ कम्प्लेक्सको आवश्यकता नै नभएको शिक्षक हेमन्त काफ्ले बताउँछन् । उनी फेसबुकमा लेख्छन् ‘बागेश्वरीमा खुल्ला आनन्द महसुस भएको थियो, फेरि सपिङ कम्पलेक्सले मन्दिर ढाक्ने सुन्दा घाँटी बुजे जस्तै लाग्यो ।’
मेयर सहाबले गर्नु भएको निर्णय सकारात्मक हो कि भन्ने अध्ययन गर्न जरुरी रहेको बताउँदै आलम खान थप्छन् ‘हरेक समस्याको समाधान संवाद मार्फत हुने हुँदा त्यसतर्फ ध्यान दिन आवश्यक देखिन्छ ।’
बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले पुराना ब्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन लागेको हो । सडक विस्तारको क्रममा बागेश्वरी मन्दिर परिसरमा रहेका ब्यापारिक सटर हटाईएको थियो । तर, पुन सोही स्थानमा नयाँ भवन निर्माण सुरु गरिएको भन्दै सामाजिक सञ्जालमा बिरोध भईरहेको छ । कतिपयले मन्दिरमा पसल थापेर भगवान बेच्ने खोजेको भन्दै कडा टिप्पणी समेत गरेका छन् ।
सामाजिक सञ्जालमा मन्दिरलाई खुल्ला छोड्नका लागि कुनै पनि व्यापारिक भवन बनाउन दिन नहुने माग उठेको छ । अधिकांशले बागेश्वरी मन्दिर परिसरलाई खुल्ला राख्दा आर्कषक देखिने बताएका छन् । नागरिकले सामाजिक सञ्जाल मार्फत मन्दिर छेउमा उक्त भवन निर्माणको काम रोक्न आग्रह समेत गरेका छन् ।
धार्मिक क्षेत्रमा ब्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्न नहुने भन्दै चौतर्फी बिरोध भईरहेपनि मन्दिर परिसरमा भने भवन निर्मण कार्य सुरु गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डाक्टर धवलशम्शेर राणाले विवाद र विरोधका बीच उक्त स्थानमा भवन निर्माणको थालनी गरेका छन् ।
९३ लाख लागतमा निर्माण सुरु गरिएको सपिङ् कम्पलेक्सको पहिलो तल्लामा १७ वटा सटर निर्माण गरिने मन्दिर ब्यवस्थापन समिति बताउँछ । भवनको दोस्रो तलामा साधु सन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको छ । मन्दिर परिसरमा सपिङ् कम्पलेक्स निर्माण गर्ने विषयमा भईरहेका टिका/टिप्पणीलाई लक्षित गर्दै प्रमुख राणाले ५०÷६० वर्षसम्म पसल ब्यवसाय गरेर बसेका ब्यक्तिको रोजरोटी खोस्नु हुदैन भन्ने मनसायले सपिङ् कम्पलेक्स निर्माण थालिएको बताए ।
सपिङ कम्पलेक्स निर्माणले मासिक दुई लाख बागेश्वरी मन्दिरलाई आम्दानी हुने भएकाले मन्दिर आत्मनिर्भर पनि हुने मेयर राणा बताउँछन् ।
नेपालगन्जमा केही नागकिरले बागेश्वरी मन्दिर परिसरमा एउटा धर्मशाला हुँदा हुँदै अर्को सपिङ भवन निर्माण गर्न नहुँने भन्दै शहरी विकास मन्त्रालयलाई समेत ज्ञापनपत्र बुझाएका थिए । धार्मिक बिश्वास अनुसार यस मन्दिरमा सतिदेविको जिब्रो पतन भएको थियो । मन्दिरमा दशैका अवसरमा बिशेष मेला लाग्ने गरेको र सधैं मन्दिर दर्शनार्थी र भक्तजनहरुको भिड लाग्ने गर्दछ । मन्दिर नेपालमा मात्र होईन भारतमा समेत प्रख्यात छ । भारतबाट पनि थुप्रै श्रद्धालुहरु बागेश्वरी मन्दिर आउने गरेका छन् ।