बागेश्वरीमा सपिङ् कम्पलेक्स बन्दैनः अधिकारी


बागेश्वरीमा सपिङ् कम्पलेक्स बन्दैनः अधिकारी

नेपालगन्ज : बागेश्वरी गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बागेश्वरी मन्दिर परिसरमा कुनैपनि खालको सपिङ् कम्पलेक्स निर्माण नहुने बताएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सचिव अधिकारी यस्तो बताएका हुन् ।

समितिका अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकामा मेयर डाक्टर धवलशम्सेर राणाले सपिङ् कम्पलेक्स बनाउँने भन्दै फेसबुकमै हल्ला र चर्चा गरिरहँदा समितिकै सचिव अधिकारीले विज्ञप्ती मार्फत मेयर राणाको भनाईलाई समेत खण्डन गरेका छन् ।

कम्पलेक्स बनाउने कुनै योजना नरहेको स्पष्ट पार्दै गुठीले साविककै ठाउँमा मूल महन्तको कार्यालय, बिशिष्ट अतिथि कक्ष, सत्संग भवन सहित १७ वटा सटर निर्माण भने गर्न लागिएको सचिवअधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बागेश्वरी मन्दिर छेउमा मन्दिरलाई नै प्रतिकुल असर पर्ने गरी सपिङ् कम्पलेक्स निर्माण हुन लागेको भनी आएका प्रतिक्रियाप्रति गम्भीर ध्यनार्कषण भएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सपिङ् कम्पलेक्स निर्माण गर्ने योजना पनि नरहेको र आगामी दिनमा सो स्थानमा कुनै पनि किसिमको सपिङ् कम्पलेक्स निर्माण नगरिने प्रतिवद्धता जनाउँछौ ।’
–बिज्ञप्तीमा भनिएको छ ।

गुठीले बागेश्वरी मन्दिरको परम्परागत मर्यादालाई असर नपर्ने गरी निर्माण हुन लागेको पूर्वाधारको ठेक्का पनि भइसकेको उल्लेख छ । नयाँ बन्ने संरचनाले मन्दिरलाई सुरक्षा र गोपनियतामा सघाउने गुठीको निष्कर्ष छ ।

मन्दिर छेउँमा सपिङ् कम्प्लेक्स बनाउन नहुने भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आवाज उठेपछि समितिले विज्ञप्ति निकालेको हो । समितिको विज्ञप्तिपछि पनि सपिङ् कम्प्लेक्स मात्र नभई अब कुनै पनि भौतिक संरचना मन्दिर छेउँमा निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।

नगरबासीको विरोधपछि शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृह मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ बाँके जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो ।

नागरिकको विरोधकै बीच उक्त मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन बिहीबार पत्र लेखेको हो मन्त्री मोहम्मद इश्तियाक राईको निर्देशनमा मन्त्रालयका इञ्जिनीयर सौगात थापाको हस्ताक्षरमा कम्पलेक्स निर्माणको काम रोक्न पत्राचार भइसकेको छ ।