नेपालगन्ज :राप्तीपारी बघौडा क्षेत्रमा यतिवेला विद्युतीकरणको कार्यले तिव्रता लिएकोछ । उच्च अदालत तुलसीपुर नेपालगन्जको ईजलासले फैसला गरेपछि यतिवेला सो क्षेत्रमा विद्युतीकरणको कार्य तिव्र पारिएको हो ।
ठेकेदारले विभिन्न बाहनामा काम ढिलो गरेको भन्दै प्राधिकरणले ठेक्का तोडेपछि विद्युतीकरणको मुद्दा अदालतमा पुगेको थियो । उच्च अदालत तुलसीपुर नेपालगन्जले नेपाल विद्युत प्राधिकरणका पक्षमा फैसला गरेपछि बघौडा क्षेत्रको विद्युतीकरणले गति लिएको छ ।
विद्युतीकरण आयोजनाको ठेक्का लिएको उस्मा धुलिखेल गुरुओम जेवीका ठेकेदार राजेन्द्रकुमार मिश्रले विभिन्न बाहाना गर्दै काममा १० वर्ष ढिलाइ गरेकाले ठेक्का तोडेर प्राधिकरण आफैले काम सुरु गरेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।
अदालतले प्राधिकरणकै पक्षमा फैसला गरेपछि काम अघि बढेको छ । क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख सिंहले भने, ‘२ सय पोल गाड्नुपर्ने थियो । राप्ती नदीमा दुई वटा टावर र तार तान्न बाँकी थियो । ठेकेदार विभिन्न बाहानामा काम ढिलो गरेपछि ठेक्का तोडेका थियौं । ठेक्का तोडेपछि ठेकेदार अदालत गए, अदालतको आदेश हाम्रै पक्षमा आएपछि काम सुरु गरेका हौं ।’
ठेकेदारले उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासमा दायर गरिएको रिटमा अदालतले प्राधिकरणको पक्षमा आदेश दिएलगत्तै बाँकेको राप्तीपारि बघौडा क्षेत्रमा विद्युतीकरणको काम तीव्ररुपमा अघि बढेको होे ।
राप्तीपारी विद्युतको पोल गाडेको २३ वर्ष पुग्दा पनि विद्युत पुग्न नसक्दा अन्धकार अवस्थामै रहेको थियो । वि.स. २०६६ पुसबाट लागु हुने गरि १८ महिनामा कार्य सम्पादन गरिसक्नुपर्ने ठेक्का लिएको ठेकेदारले १० वर्षसम्म पनि काम नगरेपछि प्राधिकरणले २४ वैशाख २०७६ मा ठेक्का तोडेको हो ।
प्राधिकरणले आफैं काम थालेपछि बघौडाबासीको विद्युत सपना पुरा हुने भएको छ । क्षेत्रीय प्रमुख सिंहले राप्तीसोनारी गाउँपालिका–४ धामपुरमा रहेको ३३ केभी प्रसारण लाइनको सवस्टेशनमा विद्युत परीक्षण भइसकेको र तार तान्ने काम भइरहेकाले अब काम नरोकिने दाबी गरे ।
उनले भने, ‘ठेक्का रद्द भएर प्राधिकरण आफैंले काम थालेको छ । फत्तेपुरको ११ केभी प्रसारण लाइनमा जोडेर बिनौना र बैजापुरमा एक महिनाभित्रै बत्ती बाल्न सकिन्छ । सकेसम्म कोहलपुर स्टेशनमै जोडेर चाँडै विद्युत सेवा दिने लक्ष्यका साथ काम भइरहेको छ ।’ प्राधिकरणको धामपुर सवस्टेशनबाट कोहलपुर स्टेशनसम्म ४३ किलोमिटर तार टाँग्ने काम मात्र बाँकी छ । अधिकांश ठाउँमा पोल गाडिसकिएको छ ।
धामपुरबाट गैरीगाउँसम्म झण्डै तीन किलोमिटर तार तानी सकिएको छ । ‘हरेक दिन कम्तीमा एक किलोमिटर तार तान्दा पनि फत्तेपुर पुग्न एक महिना लाग्छ । फत्तेपुरको ११ केभीसम्म तार तानिएपछि बैजापुर र विनौनामा बत्ती बाल्न समस्या छैन,’ उनले भने ।
झण्डै साढे दुई दशकदेखिको राप्तीपारि बघौडा क्षेत्रका स्थानीयबासीको बिजुली बाल्ने सपना चाँडै पुरा हुने आशा बढ्दै गएको थियो । संघीय सांसद महेश्वर गजतराज अथक र प्रदेश सांंसद कृष्णा केसी नमुनाको सक्रियतासँगै कोहलपुर–बैजापुर विद्युत विस्तारको काम अघि बढेको स्थानीय संविधानसभा सदस्यसमेत रहेका बैजापुरका पट्टु थारुले बताए ।
उनले यो वा त्यो बाहानामा अब विद्युतीकरणको काम रोक्न नहुने बताउँदै भने, ‘वर्षौदेखिको बिजुली बाल्ने बघौडा क्षेत्रका स्थानीयको सपना छिट्टै पुरा गर्न आवश्यक छ ।’
प्रदेश सांसद नमूनाले विद्युत प्राधिकरणले काम जारी राखेकाले विद्युतको समस्या चाँडै समाधान हुने दाबी गर्दै भनिन्, ‘चाँडो विद्युत सेवा विस्तार गर्ने भन्ने कुरामा हामी केन्द्रीत छौं । प्राधिकरण आफैंले काम गर्दैछ । बजेटको अभाव पनि छैन । अब कसैबाट अवरोध पनि छैन । बघौडाबासीको बत्ती बाल्ने सपना चाँडै पूरा हुन्छ ।’
राप्तीसोनारी गाउँपालिकाका तीन वटा वडा र सिंगो नरैनापुर गाउँपालिकामा विद्युत सेवा छैन । विद्युत प्राधिकरणको धामपुर सवस्टेशनबाट राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का २१ हजार ८ सय ३६ र नरैनापुर गाउँपालिकाको ३४ हजार ९ सय ४२ गरी ५६ हजार ७ सय ७८ जनसंख्याले विद्युत सेवा पाउने छन् । नरैनापुर क्षेत्रमा भने बिजुलीका पोल गाड्ने काम बाँकी रहेको र त्यसका लागि ठेक्का भइसकेको प्राधिकरणले जनाएको छ ।