फेरिदैं घुस खाने शैली

कागज मिलाएर घुस खानेको त लेखाजोखा नै छैन्: अख्तियार


फेरिदैं घुस खाने शैली

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खाने नयाँनयाँ शैली अपनाउन थालेका छन् । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् ।

यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली पनि अपनाउन थालेका छन् । घुस रकमको साटो घरमा विलासिताका सामान थुपार्ने प्रवृत्ति पनि
कर्मचारीमा देखिएको छ ।

प्रहरी सुरक्षाकर्मीतर्फ टिपरहरूबाट वा अन्य कुनै व्यापारिक थलोबाट मासिक रूपमा रकम उठाएर अनियमितता गर्ने गरेको देखिएको छ । ट्राफिक प्रहरीले एकपटक ‘ओई’ भने १०० रुपैयाँको रिचार्ज कार्ड दिनुपर्ने र दुई पटक अर्थात ‘ओईओई’ भने २०० रुपैयाँको रिचार्ज कार्ड दिनुपर्ने नयाँ काइदाको खुलासा भएको छ ।

आजकाल कर्मचारीले जग्गा व्यवसायीयसँग सिधै रकम समात्दैनन् विदेशमा रहेका आफन्तहरुको नाममा पैसा पठाइदिन लगाउँछन् । उताबाट हुण्डी मार्फत पैसा नेपाल झिकाउने गरेको बुझिन आएको छ ।

सामान्य सिटहेरेको २-४ सय बाहेक बाँकी मोटो रकम चट्ट संग विदेश जान्छ र उताबाट पुःन नेपाल आउँदछ पैसा । यो घुसका लागि मात्र समस्या हो तर अन्य योजना परियोजनामा कागज मिलाएर खानेको त कुनै हिसाव नै छैन र हुँदैन । त्यसको लागि आय भन्दा बढी कमाईको खोजी नगरे सम्म को भ्रष्टाचारी र को सदाचारी भन्ने पत्ता लगाउन नै सकिदैन ।

कतिपय सरकारी निकायमा सानो कागजको टुक्रामा आवश्यक रकम लेखेर घुस दिने व्यक्तिलाई थमाउने गरिँदो रहेछ । यदि घुस दिने व्यक्तिले कागजको टुक्रामा उल्लेख गरेको रकम नदिएका खण्डमा सम्बन्धित कम्पनीलाई दिनुपर्ने पत्र र दर्ता प्रमाणपत्र समेत रोकेर राख्ने काम गरिने सेवाग्राहीले बताएका छन् ।
कर्मचारीहरूले सेवाग्राही र तिनका फाइल बोक्ने एजेन्टहरूसँग तोकेरै रकम माग्ने गरेको तथ्य समेत खुलेको छ ।

अख्तियारले एक वर्षको अवधिमा घुस खाने दुई सयभन्दा बढी कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । यसरी पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने प्रवृत्ति फरकफरक पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला बताउँछन् । पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने शैली फरक÷फरक पाइएको प्रवक्ता कोइरालाले बताए ।

बिचौलियासँग मिलिमतो गरी अनियमितता गरेको प्रमाणका आधारमा अख्तियारले धेरैलाई पक्राउ गरेको छ । विगतमा पनि मालपोत, भन्सार, यातायात, नापी, उद्योग, स्थानीय तहलगायतका सरकारी अड्डाका कर्मचारीले बिचौलियासँग मिलेर अनियमितता गर्दै आएको अख्तियारको अध्ययनले देखाएको छ ।

अख्तियारमा बाँकेमा मात्रै ७० बढी उजुरी छन् । बाँकेमा सबैभन्दा बढी खजुरा गाउँपालिकाको काम कारबाहीमा २१ वटा उजुरी परेका छन । नेपालगन्ज उपमहानगरपालिकाको १६, कोहलपुर नगरपालिकाका नौ, बजैनाथको तीन, जानकीको दुई, राप्तीसोनारीको सात, नरैनापुरको पाँच र डुडुवाको तीन उजुरी परेका छन् ।

स्थानीय तहबाट सम्पादन गरिएका कामका सम्बन्धमा अनियमित अख्तियारमा उजुरीको चाङ नै लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा चालू आवमा मात्रै ३ सय ३८ वटा उजुरी परेका थिए । विकास निर्माणसँगै स्वास्थ्य र शिक्षाको जिम्मेवारी पनि स्थानीय तहमा छ । बजेटको उपलब्धतासँगै स्थानीय तहबाट भएका काममा उजुरी पर्ने क्रम पनि बढेको हो ।