काठमाडौं: आफ्ना छोरा र भाञ्जालाई प्रहरीले रोक्न खोजेपछि पूर्वयुवराज पारस शाह आक्रोशित भएका छन् । पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुवर््यवहार गरेको जनाइएको छ ।
आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा विदाईका लागि पुगेका शाहले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुव्र्यवहार गरेको जनाइएको छ । थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी पूर्वरानी कोमल शाहलाई विदा गर्न पूर्वयुवराज शाहपनि विमानस्थल पुगेका थिए ।
पूर्वयुवराज शाहले प्रहरीद्वारा आफ्ना छोरा र भाञ्जालाई दुव्र्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरे ।
यस्तो थियो घटना
पूर्वराजपरिवारका सदस्यहरु विमानस्थल पुग्दा ज्ञानेन्द्र र कोमलको तस्वीर अंकित टि–शर्ट लगाएका युवाले विमानस्थल परिसरमै राजतन्त्रको पक्षमा नारा घन्काएका थिए ।
प्रहरीले पूर्वराजपरिवारका सदस्यलाई नारा लगाउने व्यक्ति ठानेर भित्र जानेबेलामा रोक्न खोज्दा पारसले बर्दीवाल प्रहरीलाई छातीमा धकेलेका हुन् ।
विमानस्थलमा पूर्वराजपरिवारका पक्षमा नाराबाजीका लागि बाक्लो भीड जम्मा भएको थियो । सो भीड विमानस्थल प्रवेश गर्ने मुख्य गेटसम्म थियो । यस्तो बेला को पूर्वराजपरिवारको सदस्य हो र को नारा लगाउन आएको कार्यकर्ता हो भनेर छुट्याउन प्रहरीलाई गाह्रो भएको थियो ।
गेटमा उभिएका प्रहरीले एक–एक जनालाई पालैपालो भित्र छिराइरहेका थिए ।
पारसले पनि आफ्नो परिवारका सदस्यलाई हातले तान्दै भित्र छिराइरहेका थिए । सोही क्रममा विमान स्थल सुरक्षार्थ खटिएका प्रहरीले पारशका छोरा र भाञ्जालाई भित्र प्रवेशमा रोक लगाएपछि पारशले छोरा र भाञ्जामाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै आक्रोशित भएका थिए ।
आमा कोमल, बहिनी प्रेरणा, छोरा हृदयेन्द्र र भाञ्जा पार्थव छिरिसकेपछि पारसले प्रहरीलाई हुत्याउँदै अगाडि बढेको दृश्य सार्वजनिक भिडियोमा देखिन्छ ।
अर्थहिन प्रधानमन्त्रीको बोली
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार नै संसदमा सम्वोधन गर्ने क्रममा भनेका थिए, ‘सरकारको संयमलाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ ।’
प्रधानमन्त्रीले संसदबाट राजावादीहरुलाई चेतावनी दिँदै भनेका छन्, ‘ती शक्तिहरु ज्युँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्नेखालका पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्थ्यो ।’
तर, प्रधानमन्त्रीले यसो भनेलगत्तै अन्तरर्राष्ट्रिय विमानस्थलभित्रै पसेर राजतन्त्रको पक्षमा नारा लगाउन सरकारले कसरी छुट दियो ? जबकि प्रधानमन्त्रीले संसदबाट भनेका थिए, ‘सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन ।’