दुर्घटनाको कारक बन्दै चारलेन सडकका खाल्डा


दुर्घटनाको कारक बन्दै चारलेन सडकका खाल्डा

नेपालगन्ज : जहाँ, जतिबेला मन लाग्यो त्यतिबेला सडक खन्ने खानेपानी संस्थानको प्रवृत्ती नै बसेको छ । कमसल निर्माणका कारण चारलेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला खानेपानी संस्थानले सडक झन् मनपरी रुपले खन्न थालेको हो ।

सडकमा देखा परेका खाल्डाका कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन् । नेपालगन्जको राँझादेखी जमुनाहा सम्म सडकमा खाल्डै खाल्डा देखा परेका छन् ।

खानेपानी संस्थानले आफ्नो पाईप मर्मत गर्ने नाममा ठाउँ–ठाउँमा खाल्डा खन्दै छाडेको छ । पाईप मर्मत गरिसकेपछि पनि संस्थानले सामान्य रुपले खाल्डो पुर्ने काम बाहेक अरु केही नगरेको स्थानीय बासिन्दा बताउँछन् ।

‘एक त कमसल निर्माणका कारण सडक जीर्ण बन्दै गएको छ, त्यसमा पनि खानेपानी संस्थानले जथाभावी रुपले सडक खन्ने गरेको छ, यसले दुर्घटनाको खतरा झनै बढाएको छ,’ स्थानीय बासिन्दा भन्छन् ।

पटक–पटक खानेपानी संस्थान विरुद्ध प्रश्न उठेपनि कार्यालयले यस विषयमा आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । भने कार्यालयका कर्मचारी सम्पर्कमै आउन चाहदैनन् ।

सडक निर्माणका क्रममा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजना कार्यालयबीच कुनै समन्वय भएन । अहिले त्यसैको परिणाम स्वरुप सडकमुनि जथाभावी रुपमा गाडिएका पाईपबाट पानी लिकेज हुने गरेको छ । पानी लिकेज हुने वित्तिकै खानेपानी संस्थानले पाईप मर्मतका नाममा सडक नै खन्ने गरेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख रामकुमार बेद बताउँछन् ।

‘खानेपानी संस्थानले पाईप मर्मत गर्ने नाममा सडक खन्ने काम गरिरहेको छ, यसरी खन्दै जाने हो भने सडकको अवस्था के होला ?’ उनले प्रश्न गरे । सडक निर्माणका क्रममा तीन निकायबीच समन्वय भएको भए अहिले सडक खन्ने अवस्था नआउने बेद बताउँछन् ।

पहिलो कुरा त खानेपानी संस्थानले सडक खन्नु परेमा सडक डिभिजन कार्यालयसंग समन्वय गरेर सहमति लिनुपर्छ । सहमति वेगर सडक खन्न पाइदैन । तर, सस्थानले आफूखुशी सडक खन्ने र वेवास्ता गरिदिने गर्दा सडकको गुणस्तर घटिरहेको प्रमुख बेद बताउँछन् ।
प्रमुख बेदले सद्भावसंग कुरा गर्दै भने–‘काठमाण्डौं लगायतका क्षेत्रमा समन्वय विना सडक खन्ने काम हुदैन तर, नेपालगन्जमा हामी समन्वयका लागि तयार हुदाँ पनि वेवास्ता गरिन्छ ।’

‘खानेपानी संस्थानलाई हामीले यसअघि धेरैपटक चिठिपत्र लेखेर पठाएपनि वेवास्ता गरियो । तर, यसपटक उहाँहरुले समन्वय गरेर सडक खन्ने काम गर्नुभएकोछ । यो सकारात्मक कुरा हो । सडक पीच भने बर्खा सकिए पछि गर्ने सहमति भएको प्रमुख बेदले बताए ।

नेपालगन्ज सुर्खेतरोड कर्णाली विकास बैंक अगाडी खानेपानीको पाईप मर्मतका लागि यतिबेला खाल्डो खनिरहेको स्थान करिब एक वर्षको अवधिमा तेस्रोपटक खनिदैछ । यसअघि सो स्थानमा ठूलै खाल्डो भएपछि नेपालगन्ज उपमहानगरपालिकाको अग्रसरतामा सडक मर्मत गरिएको थियो । सो स्थान मर्मत गरेको वर्षदिन नपुग्दै पुनः पाइप लिकेज भएपछि खनिएकोहो । आखिर एउटै कामका लागि गैरजिम्मेवारी किन ? सर्वसाधरणको प्रश्न तेर्सिएकोछ ।

कर्णालि विकास बैंकका अगाडी सडकको दुवैतर्फ खनिएकोछ । यतिमात्र होइन विरेन्द्र चोक होटल ग्यालेक्सी दरबार अगडी पनि सडकमा खाल्डो भएपछि त्यहाँ रुखका हाँगा राखिएको छ ।

चारलेन सडकका विभिन्न ठाउँमा खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको छ । सडकका खाल्डो नै दुर्घटनाको कारक बन्दै गएपछि यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यायन पुग्न सकेकोछैन ।

सडक बनाउँदाखेरी नै खानेपानी संस्थान, ठेकेदार र सडक आयोजनाबीच समन्वय नहुदाँ यस्तो समस्या भइको हो । चारलेन सडक निर्माणमा एडिबीको ६६.६ प्रतिशत ऋण अनुदान र नेपाल सरकारको ३३.३ प्रतिशत बजेट लगानी भएको थियो ।

नेपालगन्ज–कोहलपुर आयोजनाको ‘आईसिबी कन्ट्रयाक्ट–१’ अन्तर्गत राँझादेखी जमुनाहा सम्मको १०.५० किलोमिटर खण्ड एमएमआर पप्पु जेभी कम्पनी र राँझादेखी कोहलपुरसम्मको बाँकी खण्ड ‘आईसिबी कन्ट्रयाक्ट–२’ अन्तर्गत कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको थियो ।