नेपालगन्ज: प्रदेश पाँचमा रोल्पाबाहेकका सबै जिल्लामा सिसिटिभी जडान गरिएको छ । प्रदेशका ११ वटा जिल्लाका शहरी क्षेत्रको निगरानी गर्न सिसिटिभी जडान गरिएको हो ।
सिसिटिभी जडान गर्न सरकारले तीन करोड रुपैयाँ विनियोजन गरेकामध्ये दुई करोड ५९ लाखमा उक्त कार्य गरिएको प्रदेश पाँच ट्राफिक प्रहरी प्रमुख मधुसुदन लुइटेल बताउँछन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभर एक सय पाँच वटा सिसिटिभी क्यामेरा जडान गर्ने लक्ष्य राखेको थियो । सोही अनुसार अब ३५ स्थानमा मात्रै जडान गर्न बाँकी रहेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार प्युठानमा नौ, अर्घाखाँचीमा सात, गुल्मीमा आठ, पाल्पामा १६, रुपन्देहीमा १०, नवलपरासी (पश्चिम) मा १८, कपिलवस्तुमा १४, बाँकेमा १५ र प्रदेश ट्राफिक प्रहरी कार्यालयअन्तर्गत बुटवलमा आठ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
दाङ, बर्दिया र रुकुम पूर्वमा जडान गर्ने काम जारी रहेको ट्राफिक प्रहरी कार्यालयले बताएको छ । रोल्पासहित सुरक्षाका हिसाबले संवेदनशील मानिएका ४५ वटा स्थानमा क्षेत्रमा चालु आर्थिक वर्षमा सिसिटिभीक्यामेरा जडान गर्ने र सीसीटीभीमार्फत तत्काल जिल्लाबाटै निगरानी गरिने ट्राफिक कार्यालयले बताएको छ ।