काठमाडौंः नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार राती सम्पन्न भएकोछ । द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स’मा हस्ताक्षर गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकका सहअध्यक्षद्वय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करले बैठकका क्रममा भएका द्विपक्षीय सहमतिका लिखित व्यहोरामा हस्ताक्षर गरेर संयुक्त आयोगको पाँचौँ भेटवार्ता सम्पन्न भएको छ ।
मिनेट्समा हस्ताक्षर गरेपछि सक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले नेपालको निकटको असल छिमेकी भारतले नेपालप्रति दर्शाएको सद्भावको सराहना गर्दै आयोगको बैठक फलदायी बनेको बताए ।
भारतसँग निकट सम्पर्कमा रहेर सहकार्य र साझेदारी गर्न नेपाल ईच्छुक रहेको बताउँदै उनले दुवै देशका जनताको बृहत्तर हितमा काम गर्नु आफूहरूको कर्तव्य भएको बताए । आयोगको बैठकलाई नियमित गर्न पनि उनले जोड दिए ।
विदेशमन्त्री जयशङ्करले बैठकपछि हस्ताक्षर भएका कार्यविवरणले भारत–नेपाल सम्बन्धको मार्गचित्र तयार पारेको बताउँदै त्यसबाट नै पारस्परिक सम्बन्ध उन्नत एवं अग्रगामी हुने विचार व्यक्त गरे ।
मन्त्री ज्ञवालीले १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा आएका मन्त्री जयशङ्करको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए ।
त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि पूर्वनेपाली राजदूतहरू र नेपाल र भारत सरकारका उच्च अधिकारी सहभागीको उपस्थिति थियो ।