प्रधानमन्त्रीको रगतमा बढेको भनिएको एन्टीबडी के हो ?


प्रधानमन्त्रीको रगतमा बढेको भनिएको एन्टीबडी के हो ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचारका लागि बिहीबार १५ दिनका सिंगापुर प्रस्थान गरेका छन् । गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराएका प्रधानमन्त्री यसपटक पनि सोही अस्पतालमा उपचार गर्न गएका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले ओलीको पछिल्लो सिंगापुर प्रस्थान पूर्व निर्धारित कार्यक्रम नै भएको बताएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार गर्न सिंगापुर गएको प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले बिहीबारै प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएकी छन् । यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको मेडिकल रिपोर्टबारे कसैले पनि मुख खोलेको थिएनन् ।

निजी चिकित्सक डा सिंहले विज्ञप्तिमा भनेकी छन्, ‘यसअघिको परीक्षणमा प्रधानमन्त्रीको मृगौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो । एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन उहाँ पुनः सिंगापुर जान लाग्नुभएको हो ।’

के हो एन्टीबडी ?
मृर्गौला रोग विशेषज्ञ प्रोफेसर डा. ऋषिकुमार काफ्लेका अनुसार जो कसैको पनि प्रत्यारोपण गरेको मृगौलालाई शरीरले चिन्ला भनेर औषधी खुवाउनुपर्ने हुन्छ । शरीरमा अरुको मृर्गौला प्रत्यारोपण गरिने भएकाले शरीरले बाहिरबाट ल्याएको मृगौला नचिनोस् भनेर त्यो औषधि खुवाउनुपर्ने हो ।

यदि शरीरले बाहिरबाट ल्याएको मृगौला हो भनेर चिन्यो भने आक्रमण सुरु हुन्छ र मानिसलाई समस्या बढ्दै जान्छ ।

‘यदि शरीरले त्यसरी चिन्न थाल्यो र रगतमा एन्टीबडी बढ्न गयो भने मृगौलालाई असर गर्न थाल्छ । त्यसका लागि एन्टीबडी बढ्ने प्रकृया रोक्नुपर्छ । त्यसका लागि इन्जेक्सन दिनुपर्ने हुन्छ । त्यो इन्जेक्सन प्रधानमन्त्रीलाई दिएको छ, छैन खुलाइएको छैन,’ डा. काफ्लेले भने, ‘रगतमा भएको एन्टीबडी घटाउन प्लाज्मा फेर्नुपर्छ ।’

सुमेरु अस्पतालका कार्यकारी निर्देशक समेत रहेका विशेषज्ञ डा. काफ्लेका अनुसार डाइलासिस गरेजस्तै एन्टीबडी भएको रगत निकाल्ने र अर्को रगत फेर्नुपर्ने हुन्छ ।

‘त्यसरी रगत फेर्दा तीनदेखि ६ पटकसम्म फेर्नुपर्ने हुन्छ । यसो गर्न न्युनतम समय २ हप्ता लाग्छ । यसो गर्दा रिक्स भने बेहोर्नुपर्ने हुन्छ,’ डा काफ्लेले किड्नी ट्रान्सफर गरेको मानिस यति बाँच्छ र उति बाँच्छ भनेर गरिएका अनुमानहरु हावादारी भएको पनि बताए ।

उनले किड्नी फेरेको मानिस नेपालमै २७ वर्षसम्म बाँचिरहको उदाहरण रहेको बताए ।