नेपालगन्ज: नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) शुक्रबार नेपालगन्ज स्थित भेरी अस्पतालमा पुगेका छन् ।
अस्पतालमाप उपचारार्थ तत्कालिन माओबादीका अग्रज नेता तथा पूर्व शिक्षक राममणी शर्माको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष वैद्य अस्पतालमा पुगेका हुन् ।
शुक्रबार दिउँस पार्टीका नेता तथा कार्यकर्ताहरु सहित भेरी अस्पताल पुगेका वैद्यले उपचारार्थ शर्माको उपचारमा संलग्न डाक्टर राजन पाण्डे, डाक्टर पारस पाण्डे लगायतका चिकित्सकसंग उनको स्वास्थ्य अवस्थाका बारे जानकारी लिएका थिए ।
यसक्रममा शर्माको उपचारमा संलग्न डाक्टर राजन पाण्डेले शर्माको स्वास्थ्य अवस्थामा क्रमिकरुपमा सुधार भइरहेको र अस्पतालले गम्भीर रुपमा उपचार गरिरहेको वैद्यलाई जानकारी गराएका थिए । अध्यक्ष वैद्यले शर्माको उपचारका लागि कुनैपनि कसर बाँकी नराखी उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिएका थिए ।
यसअघि व्यवस्थापिका संसदका पुर्वसभामुखमा ओनसरी घर्ती, प्रदेश सांसद कृष्ण केसी नमुना लगायतले नेता एवंम पूर्वशिक्षक शर्माको उपचारका विषयमा जानकारी लिदै उपचारमा कुनैपनि कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका शर्मालाई भेट्न नेता, कार्यकर्ता, शुभेच्छुकहरुको भीडभाड बढेको परिवारले बताए ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि तत्कालिन नेकपा माओवादीका अग्रज शर्मालाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ भएका शर्मालाई सोमबार साँझ नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
बर्दिया भुरिगाउँ निवासी ७२ बर्षिय शर्माको आईसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न डाक्टर राजन पाण्डेले बताए । उहाँलाई निमोनिया संक्रमण र दमको समस्या देखिएको छ डाक्टर पाण्डेले भने ‘हामीले आईसियूमै राखेर उपचार गरिरहेका छौ अहिले उहाँको स्वास्थ्यमा सुधारमा आईसकेको छ ।’