हाईमास्ट लाईट जडानमा दुई करोड


हाईमास्ट लाईट जडानमा दुई करोड

नेपालगन्ज : बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो सहरका रुपमा विकसित गर्नका लागि कोहलपुर नगरपालिकाले विभिन्न दातृ निकायको सहयोगमा १५ वटा हाइमास्ट लाईट जडान गर्दैछ ।

यसका लागि दुई करोड रुपैयाँ विनियोजन भएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावत बताउँछन् । उनका अनुसार सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई र नगरपालिका विचको छलफलका क्रममा मन्त्री राईले पनि नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन हाईमास्ट लाईट लगायतको सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् ।

नगरप्रमुख रावतले भने–‘मन्त्री राईले हाम्रो अभियानलाई सफल बनाउन तत्काल थप पाँच वटा हाइमास्ट मन्त्रालयकातर्फबाट उपलब्ध गराउनेतर्फ फहल गर्ने भएकाछन् ।’

कोहलपुर क्षेत्रका आम नागरिकले कोहलपुर नगरलाई सुन्दर र उज्यालो बनाउनका लागि नगरपालिकासंग पटक–पटक अनुरोध गरेअनुसार नगरपालिकाले सहरी विकास मन्त्रालय, कोहलपुर नगर विकास समिति लगायत सरोकारवाला निकायसंगको समन्वयमा उक्त अभियान अघि बढाएको मेयर रावत बताउँछन् ।

बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय विपी चोकमा केही महिना अघि हाइमास्ट जडान गरेको थियो । उक्त हाइमास्टले विपी चोक क्षेत्रको सुन्दरता बढाउनुका साथै रातीको समयमा पनि पैदल यात्री देखि सवारीसाधनलाई सडक पार गर्न सहज भएकोछ । यही कामलाई पन्छ्याउदै कोहलपुर नगरपालिकाले पनि नगरक्षेत्रमा हाइमास्ट लाईट जडान गर्ने प्रक्रिया अघि बढाएको हो ।

‘यसका लागि नगरपालिकाले टेण्डर आह्वान गरि ठेक्का सम्झौता समेत गरिसकेकोले अबको केही साताभित्रै हाइमास्ट लाईट जडानको काम तिव्ररुपमा अघि बढ्ने’ मेयर रावत बताउँछन् ।

नगरपालिकाका मेयर रावत र सहरी विकास मन्त्री राईबीच भएको छलफलमा कोहलपुर नगरपालिका क्षेत्रभित्र पाँच सय ब्यक्ति अट्ने सिटीहलका निर्माण समेत गर्ने विषयमा सहमति भएकोछ ।

सिटीहल निर्माणका बारे यसअघि पनि पटक–पटक छलफल हुदै आएको थियो । सिटीहलका लागि डिपीआर समेत यसअघि तयार भएपनि सरोकारवाला निकायको उदासिनता र लापरबाहीले अहिलेसम्म उक्त सिटीहल निर्माणको कामले गति लिन नसकेको हो ।

कोहलपुर नगरपालिकामा जनप्रतिनिधीहरु आइसकेको करिब ढाई वर्ष वितिसक्दा पनि उति चासोमा नपरेको सिटीहल निर्माण भए यस क्षेत्रका सरकारी, गैह्रसरकारी निकायका साथै आम नागरिक र निजि संघसस्थानहरुलाई विविध गतिविधि सञ्चालन गर्न सहज हुने नगरपालिकाका उप्रमुख सञ्जुकुमारी थारु बताउँछिन् ।

उनका अनुसार कोहलपुरको समग्र विकासका लागि सिटीहल र हाइमास्ट जडानले थप मद्दत गर्ने भन्दै आगामी दिनमा जनताका चाहाना र मागअनुसार नै विकास निर्माणका गतिविधिलाई नगरपालिकाले प्रमुख प्राथमिकतामा राख्नेछ ।

उनले अहिले बन्न लागेको सिटीहल पाँच सय जनाको क्षमता रहेपनि भविष्यमा यसको क्षमता बृद्धि गर्दै एक हजार जना अटाउने सिटीहल निर्माणमा पहल गर्नुपर्ने बताइन् ।

कोहलपुरमा निर्माण गर्ने भनिएको उक्त सिटीहलका लागि अनुमानित दश करोड लाग्न सक्ने बताउँदै सहरी विकास मन्त्री राईले ‘एक हजार क्षमताको हलका लागि श्रोत सुनिश्चित गर्न नसकिने तर, ५ सय क्षमताको भए आफूले रिस्क लिएर भए पनि निर्माण गराउने बताएको मेयर रावतले जानकारी दिए ।

मन्त्री राईले थपे, ‘त्यसो भए मेयर साब एक हप्ता भित्रै मैले सिटीहल निर्माणका लागि टेण्डर निकाल्न लगाउछु, तपाई ढुक्क हुनुहोस्  ।’
कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको दोश्रो चरण अन्तरगत तिस मिटर सडकमा पर्ने २ विगाह जग्गामा सो सिटीहल निर्माण हुनेछ ।