नेपालगन्ज:बाँकेको नेपालगन्जका उपमहानगरपालिकाले सातवटा बस खरिद गरेको महिनौ भइसक्यो । लाखौं मूल्यमा खरिद गरिएका बस अहिले पनि उपमहानगरपालिका परिसरमा थन्काईएका छन् ।
यी बस बाँकेको नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा सञ्चालन गर्नका लागि उपमहानगरपालिकाले केही साताअघि कार्यविधी समेत बनाईसकेको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल बताउँछन् ।
उपमहानगरपालिकाले अब केही दिनमा बस गुड्छन् भन्न लागेको पनि धेरै हप्ता भइसकेको छ । तर, नगर क्षेत्रमा उपमहानगरपालिका–द्वारा सञ्चालिन नगर बस गुड्ने कुनै छाँट देखिएको छैन् ।
सार्वजनिक शौचालयको अभाव र समस्या देखिएको नेपालगन्जमा उपमहानगरले घुम्ति सार्वजनिक शौचालय सञ्चालन गरेको थियो । अहिले बर्षदिन नपुग्दै उक्त घुम्ति शौचालय प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
उपमहानगरपालिकाको उदासिनता, ढिलासुस्ती र लापरवाहीका कारण नगरमा बस गुड्नै नपाएर जीर्ण हुने सम्भावना पनि उत्तिकै देखिएको स्थानीय गोपाल केसी बताउँछन् ।
सार्वजनिक कार्यक्रम तथा उपमहानगरकै पत्रकार सम्मेलनमा नगर प्रमुख डाक्टर धवलशम्सेर राणा, जनप्रतिनिधीका तर्फबाट प्रवक्ता बनाईएका प्रमोद रिजालले जति ठूलै स्वरमा जे सुकै प्रतिबद्धता जनाएपनि व्यवहारमा सत्प्रतिशत प्रतिबद्धा पुरा हुन नसकेको स्थानीयको गुनासो छ ।
फोहार व्यवस्थापन, राजश्व असुली, फुटपात व्यवस्थापन, डुबान, ढल निकास, घुम्ति सौचालय, आधुनिक बसपार्क निर्माण, डम्पीङसाईड निर्माण लगायतका योजनामा असफल भएको नेपालगन्ज उपमहानगरपालिका समयमै नगर बस सञ्चालनमा समेत उदासिन देखिएको छ ।
बाँकेका बिभिन्न ‘रुट’ मा नगर बस सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको उपमहनागरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेल बताउँछन् । तर, नगर बस अहिलेदेखि सडकमा गुड्ँछन भन्ने प्रश्नमा उनी समेत अनविज्ञ देखिएका छन् ।
नगर बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना बनाएको प्याकुरेलले बताए । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालिम समेत दिएको छ ।
तर, अझै नगर बसमा काम गर्नका लागि परिचालक देखि चालक तयार हुन नसकेको बताईएको छ । उपमहानगरले परिचालकका लागि आवेदन माग गरी अन्र्तवार्ताक समेत लिन काम अघि बढाउँन सकेको छैन् ।
कार्यविधी बनाईसकेपनि यी बस शनिबारसम्म सडकमा गुड्न सकेका छैनन् । उपमहनागरका सूचना अधिकारी पौडेलका अनुसार नगर बस सडकमा गुड्न अझै एक साताबढी समय लाग्छ ।
अहिलेसम्म उपमहनागरपालिकाले बसमा आवश्यक पर्ने टिकट समेत छपाउँन सकेको छैन् ।