पत्रकार उदय श्रेष्ठ बिरुद्ध उजुरी दर्ता


पत्रकार उदय श्रेष्ठ बिरुद्ध उजुरी दर्ता

नेपालगन्ज : पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध बाँके प्रहरीमा उजुरी दर्ता भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका हुन् ।

अध्यक्ष बेहनाले उजुरी दायर गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेबाट पत्रकार श्रेष्ठलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ । अभद्र व्यवहार सम्वन्धि कसुर गरेको आरोपमा श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख एसपी बीर बहादुर ओली बताउँछन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार सम्वन्धि कसुर अन्तर्गत श्रेष्ठमाथि उजुरी दर्ता गरिएको हो । एसपी ओलीले बेहनाले ९ दिनअघि नै जाहेरी लिएर आएपनि आफूले मेलमिलापका लागी समय दिएको बताए ।

उनले भने ‘उहाँहरुबीच मेलमिलाप नभएपछि बेहनाको आग्रहमा सोमबार मुद्दा दर्ता गरिएको हो ।’ बेहनाले मैले न्याय पाउने कि नपाउने भनेपछि सोमबार दिउँसो मुद्दा दर्ता गरिएको एसपी ओली बताउँछन् ।

पत्रकार श्रेष्ठलाई पक्राउ गर्नका लागि सोमबार नै पक्राउ पूर्जी जारी गरेको मुद्दा फाँटका इन्चार्ज प्रहरी निरिक्षक दिपक मल्ल बताउँछन् । श्रेष्ठका विरुद्ध मुद्दा दर्ता गरेका वडा अध्यक्ष बेहनाले श्रेष्ठले पटक÷ पटक आफूलाई डर, धाक, धम्की दिई गैरकानुनी लाभ (फिरौती) लिएको उल्लेख गरेका छन् ।

उनकाअनुसार पत्रकार श्रेष्ठले गत असारमा वडा कार्यालयभित्र प्रबेश गरी फिरौती माग गरेका थिए । आफूले फिरौती दिन ईन्कार गरेपछि सामाजिक सञ्जाल मार्फत् गाली गलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने काम पत्रकार श्रेष्ठले गरेको अध्यक्ष बेहनाले बताएका छन् ।

पत्रकार श्रेष्ठले गैरकानूनी रुपमा फोटो चोरी सार्वजनिक गरेको पनि बेहनाले आरोप लगाएका छन् । मुलुकी अपराध संहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत् दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए १ बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यवस्था रहेको एसपी ओली बताउँछन् ।

श्रेष्ठले विगतमा पनि पत्रकार आचारसहिंता विपरित काम गरी नेपाल पत्रकार महासंघ र समग्र बाँकेका पत्रकारको प्रतिष्ठामाथी आँच पु¥याएका कारण पत्रकार महासंघ बाँकेले केही वर्षअघि उनको साधारण सदस्यता समेत खारेज गरेको थियो ।

यो समाचार तयार पार्दा सोमबार साँझ ७ बजेर ७ मिनेट जाँदासम्म सद्भावको लेण्डलाईन टेलिफोन नंम्बर ५२३२२६ बाट पत्रकार उदय श्रेष्ठको मोबाईल नंम्बर ९८५८०२००४२ मा तीन पटक फोन गर्दा पनि श्रेष्ठले फोन उठाएनन् । र, उनलको प्रतिक्रिया प्राप्त गर्न सकिएन् ।

यसैबीच पत्रकार श्रेष्ठ आफू असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका थिए । उनले बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसंग सुरक्षा माग गरेको बताइएकोछ ।