कर ठगी रोक्न मापदण्ड


कर ठगी रोक्न मापदण्ड

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले घरबहाल कर ठगी गर्ने प्रवृत्ति अन्त्य गर्न चाँडै न्यूनतम घरबहाल कर मापदण्ड लागू गर्ने तयारी गरेको छ ।

सर्वसाधारणबाट अत्यधिक पैसा असुलेर सरकारलाई राजश्व नतिर्ने घरधनीलाई लगाम लगाउन उपमहानरपालिकाले यस्तो मापदण्ड लागू गर्ने प्रक्रिया अघि बढाएको हो ।

घरधनीले भाडामा बस्ने व्यक्ति, संघसंस्था तथा फर्मसँग धेरै भाडा असुल गरेर उपमहानगरपालिकालाई थोरै रकमको सम्झौता देखाउने गरेका छन् । भाडा लिँदा १० हजार लिने र नगरपालिकालाई ३ हजारको सम्झौता देखाउने गरिएको छ ।

घरधनीले उक्त सम्झौताका आधारमा दश प्रतिशत कर बुझाउँदै आएका छन् । ‘घरबहाल कर ठगी गर्ने प्रबृत्ति रोक्न र आयस्रोत बढाउन न्यूनतम घरबहाल कर मापदण्ड लागु गर्दैछौ ।’

उपमहानगरपालिकाका बरिष्ठ आन्तरिक लेखापरीक्षक खिमानन्द अर्यालले भने–‘उपमेयरको राजश्व परामर्श समितिले यस सम्बन्धमा आवश्यक काम शुरु गरेको छ ।’

उपमहानगरपालिकाले वडासंग समन्वय गरेर कुन ठाउँमा घरको न्यूनतम भाडादर कति छन् भन्ने अध्ययन गरिरहेको उपमहानगरपालिका बताउँछ ।