एक हजार ४८ ले लिए अंगिकृत नागरिकता

सचेतनाको अभावले पालिका तहमा नागरिकता लिनेको संख्या न्यून


एक हजार ४८ ले लिए अंगिकृत नागरिकता

नेपालगन्ज: पछिल्ला वर्ष बाँकेमा अंगिकृत नागरिकता लिने महिलाहरुको संख्या बढेको छ । बाँके जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा एक वर्षको अवधिमा एक हजार ४८ जना महिलाले अंगिकृत नागरिकता लिएका छन् । यो तथ्यांक गत वर्षको भन्दा केही बढी हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट ७ सय २ जना महिलाले अंगिकृत नागरिकता लिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताए ।

यस्तै गरि बाँकेको नरैनापुर स्थित ईलाका प्रशासन कार्यालयबाट ३ सय २७ र कोहलपुर ईलाका प्रशासन कार्यालयबाट १८ गरि एक वर्षमा जम्मा १ हजार ४८ जना महिलाले अंगिकृत नागरिकता लिएका हुन् ।

‘वैवाहिक अंगिकृत नागरिकता लिनेमा अधिकांश भारतबाट विवाह भएर आएका महिलाहरु नै बढि भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्याल बताउँछन् ।

अर्यालका अनुसार १४ हजार सात सय ६४ जनाले वंशजका आधारमा र ६ हजार आठ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएको छन् । ईलाका प्रशासन कार्यालय, नरैनापुरबाट नागरिकता लिनेको संख्या एकदमै न्यून देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट ८ हजार एक सय १२ जनाले वंशजको आधारमा नागरिकता लिँदा मधेसी बाहुल्य रहेको ईलाका प्रशासन कार्यालय, नरैनापुरबाट जम्मा ९ सय १२ जना र ईलाका प्रशासन कार्यालय, कोहलपुरबाट पाँच हजार सात सय ४० जनाले नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्याल बताउँछन् ।

‘नरैनापुर क्षेत्रमा नेपाली नागरिकताको प्रमाणपत्रको महत्वबारे बुझाइ अलि कम छ की भन्ने देखिन्छ,’ उनले भने । जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालय, कोहलपुरबाट भन्दा ईलाका प्रशासन कार्यालय, नरैनापुरबाट नागरिकताको प्रतिलिपि लिनेको संख्या पनि थोरै देखिएको छ ।

जिल्ला प्रशासनबाट चार हजार ६ सय ५३ जनाले प्रतिलिपि लिँदा नरैनापुरबाट ८६ र ईलाका प्रशासन कार्यालय, कोहलपुरबाट दुई हजार एक सय ६ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रशासनको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

एक वर्षको अवधिमा तीनजनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेको प्रशासनले जनाएको छ । ईलाका प्रशासन कार्यालय, नरैनापुरबाट कसैले पनि नाबालक परिचय पत्र लिन नआएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

उनका अनुसार, ईलाका प्रशासन कार्यालय, कोहलपुरबाट एक सय २५ र जिल्ला प्रशासनबाट एक सय ७० जनाले नाबालक परिचय पत्र लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, ईलाका प्रशासन कार्यालय, नरैनापुरबाट राहदानी लिनेको संख्या पनि एकदमै कम छ । नरैनापुरले द्रुत सेवाका लागि ६ वटा सिफारिस मात्र गरेको छ ।

ईलाका प्रशासन कार्यालय, कोहलपुरले नियमिततर्फ एक हजार आठ सय ९० र द्रुत सेवाका लागि आठ सय ८३ वटा राहदानी सिफारिस गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले नियमिततर्फ चार हजार एक सय ८ र द्रुत सेवाका लागि एक हजार ३१ गरि पाँच हजार एक सय ३९ वटा राहदानी सिफारिस गरेको उनले बताए ।

एक वर्षको अवधिमा बाँकेबाट राहदानीका लागि सात हजार ९ सय १८ वटा सिफारिस गरि वितरण गरिएको उनले बताए ।