नेपालगन्ज:हिन्दू सनातन धार्मिक परम्परा अनुसार बाबुको मुख हेर्ने दिन अर्थात कुशे औसी हरेक वर्षको भाद्र महिनाको अमावस्या(औसी) का दिन मनाइने एक सामाजिक हिसाबले महत्वपूर्ण पर्व हो ।
बाबुको मुख हेर्ने, बुवाको मुख हेर्ने, पिताको मुख हेर्ने वा कुशे औसी तथा गोकर्ण औसी आदि नामबाट चिनिने एवं सम्बोधन गरिने यो पर्व विशेषगरी आफूलाई जन्म दिने पिताको श्रद्धा र सम्मानमा परम्परा अनुसार मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र आफना बुवाको मुख हेर्ने कार्य गरी सहर्षका साथ मनाईन्छ ।
हिन्दू धर्म शास्त्र अनुसार कुशे औसी तथा बाबुको मुख हेर्ने दिन हिन्दूहरु वर्षदिनमा देवकार्य, पितृकार्य, कर्मकाण्डमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउछन ।
यसरी विधिवत् तरिकाले पूजन गरि कुश घरमा भित्र्याउदाँ घर–परिवार सबैको कल्याण एवं शुभ हुने धार्मिक विश्वास गरिन्छ ।
यस कुशे औशीको दिन नेपालभित्र वा बाहिर बसोबास गर्ने छोराछोरीहरु आ–आफ्नो बुबाको मुख परम्परागत रुपले हेर्नका लागि विभिन्न परिकारका मिठाई खानेकुरा फलफुल भोजन आदि सहित आफ्नो घर आउँछन् र आफूलाई जन्म दिने पिताको श्रद्धा र सम्मानमा परम्परा अनुसार मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र आफ्ना बुवाको मुख हेर्ने कार्य गरी सहर्षका साथ मनाईन्छ ।
यस्तैगरी बुवा नहुने अर्थात दिवंगत भएकाहरु पनि एकाविहानै देखि काठमाण्डौंको गोकर्णस्थित साली नदीमा गई स्नान गरी पूरै विधिपूर्वक आफ्ना दिवंगत बुवाको सम्झनामा श्राद्ध तथा पिण्डदान गरेर पुरोहित तथा ब्रह्माण्डहरुलाई आफुले सके अनुसारको दानदक्षिणा दिने गरी पनि नेपालको काठमाण्डौंको समाजमा बुवाको मुख हेर्ने दिन अर्थात कुशे औशी मनाउने परम्परा विध्यमान छ । तसर्थ कुशे औशीको दिनलाई गोकर्ण औशीको दिन पनि भनिदो रहेछ ।
एकातर्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । यसै चटारोका बिचमा आजको दिन नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्ट को जन्मजयन्ति पनि हो । साथै आजकै दिन दर्शश्राद्ध, मन्वादि, निशि बार्ने दिन र हलो बार्ने दिन पनि हो ।