गौहत्या प्रकरण: मेयर राणाको निर्देशन, नगर प्रहरीको सक्रियता


गौहत्या प्रकरण:  मेयर राणाको निर्देशन, नगर प्रहरीको सक्रियता

नेपालगन्ज:नेपालगन्जबाट दैलेख पठाउन लागेका गाई–गोरु प्रहरी चेकपोष्टको नजिक पनि फालिएको भेटिएको छ । शनिबार सुर्खेतको सुब्बाकुना प्रहरी चेकपोष्टभन्दा करिब १०० मिटर पर ६ वटा मरेका गाई भेटिएको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल बताउँछन् ।

शुक्रबार त्यसभन्दा पर ब्यूरेनी नजिक फालिएकामध्ये ८ वटा गाई–गोरु मरेका भेटिएका थिए । तिनै मृत गाई–गोरु गाड्न जाने क्रममा प्रहरी चेकपोष्ट नजिक भिरबाट गाई–गोरु तल फालिएको अवस्थामा भेटिएको उनले बताए ।

नेपालगन्जबाट दैलेखको श्रीस्थान जङ्गलमा गाई–गोरु लैजाने काममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीको सक्रिय भूमिका रहेको खुलेको छ ।

उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलका अनुसार गाई–गोरुहरू नगर प्रहरीको नेतृत्वमा दैलेखतिर पठाईएको थियो । नगर प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा करिब तीन सयम गाई–गोरु पठाईएको हो ।

उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाको निर्देशनमा नगर प्रहरीले गाई–गोरु ट्रकमा लोड गरेर लगेको खुलेको हो । उपमहानगरपालिकाको नगर प्रहरीका हवल्दार पवन कनौजियाले काञ्जि हाउसबाटै नगर प्रहरीका निरीक्षकले प्रशासनको पत्र देखाएर गाईगोरु ट्रकमा लोड गरी लगेको बताएका छन् ।

सुर्खेतको कट्कुवामा भएको गौहत्या प्रकरणमा उपमहानगरपालिकाका मेयरको निर्देशनसहित नगर प्रहरी, अभियान्ता भनिने डाक्टर विनोद कर्ण लगायतका व्यक्तिले ट्रकमा गाई–गोरु खादेर दैलेखतिर पठाएको पाईएको छ ।

उनीहरुकै सक्रियतामा दैलेख लैजादै गरेका गाई–गोरु बीच बाटोमा फालिएको हुन सक्ने आशंका आम नागरिकले गरेका छन् । ‘छाडा पशुचौपाय व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर लगेको हो, बीचमै गाई–गोरु मरेपछि स्थानीयले थाहा पाए विरोध गर्लान् भन्ने सोँचेर हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको सूचना अधिकारी पौडेलले उनीहरुको बचाऊ गरको छन् ।

प्रहरी चेकपोष्टभन्दा १०० मिटर पछाडि गाई फालिएको रहेछ, ६ वटा मृत भेटिएका छन्,’ उनले भने, ‘ती गाई–गोरुको मुचुल्का उठाएपछि गाड्छौं ।’ उनकाअनुसार कट्कुवा लगायतका ठाउँमा मृत फेला परेका करिब सबै गाई–गोरु गाडिसकिएको छ ।

नेपालगन्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर २ सय ९१ वटा गाई–गोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो । ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको भेटिएको छ । वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र भेरी पुलसम्म पर्ने भएकाले त्यहाँसम्म खोजिएको नगरपालिकाका वरिष्ठ अधिकृत पौडेलले बताए ।

उनका अनुसार वीरेन्द्रनगरभित्र कट्कुवा, ब्यूरेनी र सुब्बाकुनासहित तीन ठाउँमा २६ वटा गाई मृत भेटिएका छन् । वीरेन्द्रनगरको कट्कुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये एक सय वटा गाई–गोरु नेपालगन्ज फिर्ता ल्याईएको उपमहानगरपालिकाले बताएको छ ।