नेपालगन्ज : सुर्खेतको कट्कुवामा भएको गौहत्याको छानबीन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । सुरक्षा निकाय समेतको सहभागिता रहने चार सदस्यीय छानविन समितिलाई गौहत्या प्रकरणको बास्तविकता पत्ता लगाउने गरी १५ दिनको म्याद दिइएको छ ।
गौहत्या प्रकरणको छानविन गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ । मन्त्रालयले गाईहरुको ओसारपसार,अस्वभाविक मृत्यु तथा घाइते भएकाका सम्बन्ध यथार्थ पत्ता लगाउने जनाएको छ ।
उक्त समितिलाई कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता छ दोषीलाई प्रचलित कानुन बमोजिम कस्तो कारवाही गर्नेसम्मको अधिकार उक्त समितिलाई दिइएको छ ।
गौहत्यामा संलग्नलाई कडा कारवाही गर्ने र उन्मुक्ति नदिने मन्त्रालयले स्पष्ट पारेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले यहाँ स्थित काञ्जी हाउसमा रहेका गाईहरु दैलेखको श्रीस्थानको जंगलमा उपमहानगरपालिकाले नै पठाएको बताएका छन् ।
मेयर राणाले भने– ‘त्यहाँका स्थानीयले गाईपालनमा चासो देखाई उपमहानगरपालिकामा गाई पाउँ भनि निवेदन दिएका कारण केही गाई किसानहरुका लागि र केही श्रीस्थान जङ्गलमा छोड्नका लागि पठाइएको हो ।’
बिहीबार राती दैलेख लैजानेक्रममा सुर्खेतको कट्कुवा जंगल नजिक ट्रकमा लोड गरिएका गाईहरु मरेको जिकिर गर्दै मेयर राणाले भिरबाट खसालेर गौ हत्या गरिएको भन्ने कुरा निराधार भएको दावि गरेकाछन् ।
नेपालगन्जबाट लोड गरि पठाइएका ट्रकमा उपमहानगरपालिकाका कर्मचारी समेत गएको हुँदा त्यसरी भिरबाट खसाएर गौ हत्या गर्ने कुरै हुननसक्ने उनको भनाईछ । सुर्खेतको कट्कुवामा गत विहीबार राती नेपालगन्जबाट दैलेखका लागि लगिएका करिब ३ सय गाईमध्ये २२ वटा हत्या भएकोछ । शनिबारसम्म २६ वटा गाईगोरू मरेको अवस्थामा भेटिएको वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रशासकिय अधिकृत प्रकाश पौडेल बताउँछन् ।
सुर्खेतमा भएको गौ हत्याको तत्काल छानविन गरि दोषीलाई कानूनी कारबाही गर्न नपाली काँग्रेसले सरकारसंग माग गरेकोछ । काँग्रेस संसदीय दलले एक विज्ञप्ती जारी गर्दै गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले यसरी गौ हत्या गर्नु जघन्य अपराध भएको ठहर गरेकोछ ।
पार्टी प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कानूनी कारबही गर्न सरकार एवंम सम्बन्धित निकायसंग माग गरिएकोछ ।
त्यस्तै दोषीलाई कानूनी कारबाही गर्न सुर्खेतमा शनिबार विहानै देखि आन्दोलन गरिएकोछ ।
यता सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले गाई–गोरु व्यवस्थापनमा नेपालगन्ज उपमहानगरपालिकाको चरम लापरवाही देखिएको बताएकाछन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणाले उपमहानगरपालिकाले नै गाई–गोरु दैलेखको श्रीस्थान पठाएको स्वीकारिसकेकाले यस विषयमा थप अनुसन्धान भइरहेको रावलले बताए ।
उनका अनुसार अनुसन्धान सगैं कारबाहीका लागि कानूनी प्रकृया अघि बढिसकेकोछ ।