प्रतिवेदनका आधारमा कारवाही: मन्त्री राई


प्रतिवेदनका आधारमा कारवाही: मन्त्री राई

नेपालगन्ज : शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले दैलेख लैजादाँ मरेका गाई–गोरुको विषयमा दोषीलाई छानबीन समितिको प्रतिवेदनका आधारमा कानूनी कारवाही हुने बताएका छन् ।

शहरी विकासमन्त्री राईले आईतबार नेपालगन्जमा सञ्चारकर्मीसँग बोल्दै यस्तो बताएका हुन् । राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद ्भएको उनले बताए ।

‘नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पु¥याएको भए यस्तो दुःखद् अवस्था शायद आउने थिएन,’ मन्त्री राईले भने ।

उनले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकाले सो समितिले दिएको प्रतिवेदनका आधारमा दोषीमाथी कारवाही हुनुपर्ने बताए ।

नेपालगन्ज निवासी मन्त्री राईले नेपालगन्जको विकासमा आपूmले चुनावका बेला गरेको वाचा र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएको बताउँदै विकासमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन नदिएको स्पष्ट पारेका छन् ।

भेरी अस्पतालको स्तरोन्नति, कान्ति ताल, वाटर पार्क, प्रसिद्ध बागेश्वरी मन्दिर, बहुउद्देश्यीय सभागृह, सडक, पुल तथा पुलेसा निर्माण र जीर्णोद्धारका साथै सामाजिक विकासमा आफ्नो मन्त्रालयबाट काम भइरहेको उनले बताए । मन्त्री राईले भने, ‘म कुनै धर्म, जातिको मन्त्री होइन, सबै नेपालीको मन्त्री हूँ, कसैले धर्म र जातिका आधारमा मलाई विवादमा ल्याउन खोज्छ भने त्यस्ता पक्षसँग सबै सावधान हुनुपर्छ ।’
उपमहानगरपालिकाका पदाधिकारीसँग कुनै बिवाद नभएको स्पष्ट पार्दै उनले विवाद गरेर नभई मिलेर नेपालगन्जको विकासको काम गरिरहेको र आगामी दिनमा त्यस्तो कार्यलाई प्राथमिकता दिने बताए ।

बागेश्वरी मन्दिरको सटर लगायतका बिषयमा आफुले कसैलाई हस्तक्षेप नगरेको उनी बताउँछन् । नेपालगन्जको जनप्रतिनिधि भएको नाताले यहाँको हरेक विषयमा चासो राख्नु आफ्नो दायित्व भएको उनको भनाई थियो ।

मन्त्री राईले भने,–‘स्थानीय जनप्रतिनिधि भएको नाताले यहाँ भएका हरेक विषयमा चासो र चिन्ता व्यक्त गर्नु मेरो दायित्व हो ।’ गाई वा मन्दिरका बिषयमा आफुले राजनीतिक नगरेको मन्त्री राईको भनाई छ ।

यसैबीच क्यान्सरबाट पीडित बाँके र सुर्खेका दुई पत्रकारको जीवन रक्षाको लागि मन्त्री राईले आर्थिक सहयोग गरेका छन् । गृह जिल्ला बाँके आएका शहरी विकास मन्त्री राईले औषधी उपचारका लागि जनही पचास हजारका दरले आर्थिक सहयोग गरेका हुन ।

आन्द्राको क्यान्सरबाट पीडित रहेका बाँकेका पत्रकार (हाल चितवन) बस्दै आएका बरिष्ठ पत्रकार रेशम बिरहीको उपचार सहयोगको लागि पचास हजार र बोनम्यारो क्यान्सरबाट पीडित रहेका सुर्खेतमा क्रियाशिल पत्रकार डिलप्रसाद शर्मालाई पचास हजार रुपैयाँ सहयोग गरेका हुन ।

यस्तै बाँकेको कोहलपुरमा रहेको ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा १२ औं राष्टिूय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राईले बाँकेको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
कोहलपुरदेखि जमुनासम्मलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न दिर्घकालिन योजना बनाईएको उनले बताए । उनले कोहलपुर विकासन्मुख शहर भएकाले ठुला ठुला भौतिक पूर्वाधार निर्माण गर्नका लागि पहल गर्ने प्रतिवद्वता जनाउँदै कोहलपुरको विकासका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार बिच सहकार्य हुन आवश्यक रहेको बताए ।

मन्त्री राईले ज्ञानोदय सामुदायिक पुस्तकालयको विकासका लागि आवश्यक सहयोग गर्ने भन्दै पुस्तकालयले समाज परिवर्तनमा महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।