रामलीलाको १५२ औं संकरण मञ्चन गरिने


रामलीलाको १५२ औं संकरण मञ्चन गरिने

नेपालगन्ज : बाँकेको नेपालगन्जमा यस वर्ष पनि रामलीला सञ्चालन गरिदैछ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन गरिने भएको हो ।

असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगन्ज १३ बाँके बगियामा असोज १२ गतेदेखि रामलीला प्रारम्भ हुनेछ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन विभिन्न उप समिती निर्माण तथा जिम्मेवारी दिइएको छ ।

रामलीला सञ्चालक समितिका अध्यक्ष श्याम सुन्दर कनोडियाको अध्यक्षतामा बसेको बैठकले तयारी स्वरुप ६ वटा समिती निर्माणका साथै थप आवश्यक निर्णय गरेको छ ।

सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यका अनुसार कार्यालय तथा सचिवलालय व्यवस्थापन, अर्थ संकलन, प्रचार प्रसार, मञ्च निर्माण र व्यवस्थापन, दर्शक व्यवस्थापन, मञ्च कार्यक्रम सञ्चालन उप समिती निर्माण लगायतका निर्णय गरिएका छन् ।

बैठकले एम्बुलेन्स सञ्चालनका लागि भारतीय राजदुतावाससँग माग गर्ने निर्णय पनि गरेको छ । रामलीला सञ्चालनका लागि आवश्यक समन्वय र सहकार्यको काम शुरु गरिसकिएको अध्यक्ष कानोडियाले बताए ।