नरैनापुर(बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटेहिया गौशालामा रहेका गाईहरुको संरक्षणका लागि ‘एक घर एक गाई’ अनुदान सहयोग सञ्चालन गरिएको छ ।
नरैनापुर गाउँपालिकाको सहयोगमा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयले प्रतिबद्धता जनाएका छन् ।
‘गाई संरक्षणका लागि एक सय जति व्यक्तिले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,’ मटेहिया छाडा पशु व्यवस्थापन समितिका सचिव रामनिवास यादवले भने, ‘गौशालाको व्यवस्थापन र गाईको संरक्षणका लागि स्थानीयले स्वःस्फूर्तरुपमा सहयोग गर्ने भएका छन्, प्रत्येक ६ महिनामा प्रति घर २० किलो गहुँ वा चामल दिने प्रतिबद्धता आएको छ, त्यसबाट हामीले गाईहरुको आहाराका लागि भुस, नुन र पराल किन्छौं ।’
गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले पाँच–पाँच वटा गाई संरक्षणको दायित्व लिएको सचिव यादवले बताए ।
गाउँपालिकाको सहयोगमा गत आर्थिक बर्षमा ३ वटा गाईगोठ बनाउनुका साथै गौशाला क्षेत्रमा तारजाली समेत गरिएको छ । ‘गौशालाको व्यवस्थापन र गाई संरक्षणका लागि गाउँपालिकाले सबै सहयोग गर्छ, गौशालाका लागि गाउँपालिकाले १६ लाख लगानी गरिसकेको छ, चालू आर्थिक बर्षमा पनि थप ३० लाख लगानी गर्छौं,’ गाउँपालिकाका अध्यक्ष शाहले बताए ।
अध्यक्ष शाहले हाल त्यहाँ भएका गाईहरुको संरक्षणमा ध्यान दिँदै नेपालगन्ज क्षेत्रमा रहेका छाडा गाईहरुलाई पनि मटेहिया गौशालामा ल्याएर पालिने बताएकाछन् ।
‘हामीसंग प्रशस्त जग्गा छँदैछ, अब थप संरचना बनाएर नेपालगन्ज क्षेत्रका गाईहरु पनि यहाँ ल्याएर पाल्छौं, शाहले भने, ‘गाईको
संरक्षणका लागि गाउँपालिका प्रतिबद्ध छ ।’ उनले ३ जना गाई हेरालुको पारिश्रमिक पनि गाउँपालिकाले ब्यहोर्ने बताए ।
दश महिनादेखि सञ्चालनमा आएको मटेहिया गौशालामा अहिले करिब ३ सय गाई रहेका छन् । गौशाला क्षेत्रमा गड्यौंले मल उत्पादनको काम पनि शुरु भइसकेको व्यवस्थापन समितिका सचिव यादवले भने । गाउँपालिकाकै सहयोगमा केही समयअघि गौशाला क्षेत्रमा अमला र हर्रोका करिब ६ सय विरुवा रोपिएको यादवले बताए।