नेपालगन्ज : बाँकेको पूर्व र दक्षिण सीमा भारतसँग जोडिएको छ । पूर्वतर्फ राप्ती नदी र पश्चिम–दक्षिण भारत सीमा छुट्याउने मानखोला छ ।
तर, चार वर्षयता राप्ती नदी, मानखोला र बगरमा नेपाल–भारत सीमा छुट्याउन मुस्किल छ । नदी र बगरमा दशगजा देखिँदैन । नेपाल–भारत सीमामा राखिएका जंगेपिलर र सहायक पिलर बाढीले बगाएको छ, जसका कारण सीमा यकिन गर्न मुस्किल भएको हो ।
नरैनापुर गाउँपालिका भगवानपुर हुँदै भारत पसेको राप्ती नदीले ६४३ (१४) नम्बरको सीमा स्तम्भ बगाएको छ । उक्त जंगेपिलर स्थानीयले खोज्ने प्रयास गरे पनि पत्ता लागेन ।
‘गाउँ हुँदै नदी भारततिर बगेको छ । बालुवाको बगर छ । पानी र बालुवामा नेपाल–भारत सीमा यकिन हुन समस्या छ,’ स्थानीय राजकुमार मौर्य भन्छन, ‘समयमै सीमास्तम्भ पहिचान गरिएन भने भविष्यमा सीमा विवाद हुन सक्छ ।’
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले त्यहाँ निगरानी बढाउँदै आएको स्थानीय बताउँछन् । तर, नेपाल सरकार भने सचेत देखिन्न । बाँकेका सुरक्षा अधिकारीहरुले त्यसबारे पटकपटक केन्द्र सरकारलाई लिखित जानकारी दिँदै आएका छन् । सीमास्तम्भ खोज्ने प्रयास हालसम्म भएको छैन ।
‘कम्तीमा सरकारले हाम्रो सीमा यहाँ हो भन्न सक्नुपर्छ । नदी, खोला बगेको स्थानमा पनि सीमा स्थापना आवश्यक छ,’ मौर्य भन्छन् ।’ उक्त पिलर मात्रै होइन, बाँकेको पूर्वी सीमा कटकुइया र पश्चिम मानखोला सीमासम्मका मुख्य पाँच (जंगेपिलर) र सहायक आठ गरी १३ वटा स्तम्भ राप्ती नदी र मानखोलाले बगाएको छ ।
दुई मुलुकको जिल्लास्तरीय सुरक्षा अधिकारीबीचको काउन्टर पार्ट मिटिङमा त्यसबारे छलफल हुने गरेको छ । तर, केन्द्रबाट मात्रै सीमाको खोजी, जीर्णको मर्मत हुने निर्णय गर्नुपर्ने भएकाले कार्यान्वयन नभएको हो ।
हराएका सीमा स्तम्भको खोजी भएको छैन भने २५ वटा भन्दा बढी जीर्ण स्तम्भ मर्मत हुन नसकेपछि नष्ट हुने अवस्थामा पुगेका छन् । सीमा सुरक्षाका लागि बाँकेमा खटिएको सशस्त्र प्रहरी ३० नम्बर गणका अधिकारीहरुले त्यसबारे केन्द्रलाई जानकारी गराउँदै आएका छन् ।
नेपाल–भारत बाँके सीमामा रहेका ६३५(३), ६४३ (१४), ६४४ (१६), ६४५(१७/१) र ६५७ नम्बरका मुख्य (जंगेपिलर) हराएका छन् । स्थानीय प्रशासनले नदी र खोलाले बगाएको दाबी गरेको छ ।
त्यसअघि ६३८/६, ६३९/१७, ६४३/१, ६४३/२, ६४४/१, ६४४/२, ६४५/१, ६५६/१ नम्बरका सहायक पिलर पनि हराएका थिए । ६३६/४, ६४६/१९ र ६५५/३६ नम्बरका मुख्य पिलर र १९ वटा सहायक स्तम्भ मर्मत गर्नुपर्ने अवस्थाका छन् ।
त्यस्तै, १ मुख्य स्तम्भ र ३ सहायक सीमा स्तम्भको पुनर्निर्माण र १७ स्तम्भ मर्मत गर्नपर्ने अवस्थामा पुगेका छन् । बाँकेको सीमामा मुख्य र सहायक गरी ३०७ स्तम्भ छन् ।
३२ मुख्य स्तम्भमध्ये ५ राप्ती नदी र मानखोलाले बगाएको हो । २७५ सहायक स्तम्भमध्ये ५ वटा खोलामा बगेका र ३ वटा हराएका हुन् । नेपालगन्जको मुख्य नाका जमुनाहा नजिकैका सहायक सीमास्तम्भ पनि हराएका छन् ।
बाढीमा बगेर वर्षौंदेखि हराएका सीमास्तम्भ खोजीका लागि आवाज उठे पनि सरकारी निकायले खोज्ने प्रयास नगरेको नरैनापुरका स्थानीयबासी पर्शुराम शुक्ला बताउँछन् ।