दोहोरो नागरिकता, लगानी र सम्पतीको सुरक्षा हुनु पर्छ: एनआरएनए सचिवका उम्मेद्वार बस्नेत


दोहोरो नागरिकता, लगानी र सम्पतीको सुरक्षा हुनु पर्छ: एनआरएनए सचिवका उम्मेद्वार बस्नेत

अष्ट्रेलिया : अष्ट्रेलियामा बसिरहेका नेपाली नागरिक अभिमानसिंह बस्नेतले विश्वभरका नेपालीहरुको दोहोरो नागरिकता, लगानी र सम्पतीको सुरक्षा हुनु पर्ने बताएका छन् ।

विश्वभर छरिएर रहेका नेपालीहरु नेपालकै माटोमा जन्मिएको, हुर्किएकोले नेपालप्रति ठुलो चिन्ता रहेको भन्दै उनीहरुको दोहोरो नागरिकता अनि लगानी र सम्पतीको सुरक्षाप्रति बस्नेतले चिन्ता व्यक्त गरेका हुन् ।

आगामी अक्टोबर १३ देखि १६ सम्म नेपालमा हुन गैरहेको एनआरएनए अन्तर्रराष्ट्रिय परिषद(ICC) को सचिव पदको उम्मेद्वार रहेका बस्नेतले विदेशमा बस्ने सारा नेपालीको तन विदेशमा भएपनि मन नेपालमै रहेको उल्लेख गर्दै नेपाल सरकार उनीहरुको हरेक कुराको निम्ति गम्भीर हुनुपर्ने बताएका छन् ।

सन् २००८ बाट अस्ट्रेलियाको ब्रिसबेन शहरमा बसोबास गर्दै आएका बस्नेतले एनआरएनए अन्तरराष्ट्रिय परिषद्को सचिव पद्को उम्मेद्वारी दह्रो ऐजेण्डाका साथ प्रस्तुत् गरेका छन् । उनको एजेण्डामा विदेशमा बस्ने नेपालीहरुप्रति बस्नेत निकै गम्भीर र चिन्तित् भएको देखिन्छ । बस्नेतले सन् २०१५ देखि २०१७ को कार्यकालको लागि एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य संयोजक भएर काम गरिसकेका छन् ।

अष्ट्रेलिया तथा अन्य देशमा बस्ने नेपालीका हरेक दुःख, सुखमा सक्रिय बस्नेत निरन्तर रुपमा नेपाली डायस्पोराको अष्ट्रेलियाली समाजमा सक्रिय छन् । उनले यस अघि नेपाल रहँदा देखि नै सामाजिक सरोकारका काममा आफ्नो क्षमता र दक्षताले भ्याएसम्म लागि परिरहेको बताए ।

एनआरएन अभियानलाई हाम्रो अधिकार, जिवनशैली र जिम्मेवारीको अभियानको रुपमा लिएको बस्नेतले बताए । कर्मभूमिमा सिकेको ज्ञान र शिप अनि समृद्धीलाई मातृभूमीको उत्थान र विकासमा लगाउने जिम्मेवारी सम्पूर्ण एनआरएनहरुले महसुस गरेको बस्नेतले बिश्वास गरे ।

एनआरएनमा राजनीति गर्न नहुने र एनआरएन भित्र हुन सक्ने अनावश्यक दलिय राजनीतिको आफु विरोधि रहेको बस्नेतले बताए । तर, एनआरएन हाक्न दलिय राजनीति होईन संस्था चलाउन चाहिने व्यवस्थापकीय राजनीति, बैचारिक बहसमा सबै राजनीतिक शक्तिलाई बुझाउन सक्ने खरो, राजनीति बुझेको अनि पहुँच भएको नेतृत्वको अहिले आवश्यकता रहेको बस्नेतले बताए ।

विदेशमा बस्ने नेपालीको हकहितमा सधैं लागि पर्ने एनआरएनए सचिवका उम्मेद्वार बस्नेतले भने ‘अहिले हामीले दोहोरो नागरिकता, लगानी र सम्पतीको सुरक्षाको लागि राजनैतिक नेतृत्वसम्म हाम्रो आवाज पुर्याउन सक्ने नेतृत्व चाहिएको मैले महसुस गरेको छु । एनआरएनहरुको पनि आफ्नै मौलिक राजनीति हुनपर्छ जसले सकारात्मक सोच र पहल निर्माणको लागि चाहिने राजनीति गर्न सघाओस ।’

‘हामीले दोहोरो नागरिकता पाउँदै गर्दा हामी जन्मेको राष्ट्रप्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नुपर्छ भन्ने मैले राम्ररी बुझेको छु ।’ बस्नेतले अगाडी भने–‘सायद हामीपछिको वा हाम्रा छोराछोरी नाती नातिनाको पिँढीले पनि आफ्ना बाबु आमा र पूर्खाको ईतिहास र बिरासतलाई कुनै न कुनै ढंगले सम्झने वा नेपाललाई कुनै न कुनै तवरले योगदान पुर्याउलान भन्नेमा आशा गर्न सकिन्छ ।’

हामी नेपालीहरुको माइग्रेसनको ईतिहास खासै लामो नभएको तर पनि यो प्रवासी जीवन अजमाउने कुरा नौलो र नयाँ पनि नभएको उनले बताएका छन् । ‘धेरैले छोटो समयमा उल्लेख्य प्रगति गरेका छन्, जीवन र जगतको अनुभब गरेका छन्, सफल भएका छन्, व्यवसायिक भएर नाम कमाएका छन् ।’ विदेशमा बसेका नेपालीको प्रगतीप्रति गर्व गर्दै बस्नेतले भने ‘अहिलेको अवस्थासम्म आइपुग्दा सफल बैज्ञानिक, बिज्ञ, ब्यबसायी, मार्गदर्शक, समाजसेवी, राजनीतिक एवम् अनेकौं पेशाकर्मीको पहिचान बोकेर विश्वभरका नेपालीहरुले जताततै दह्रो उपस्थिति बनाएका छन् । त्यसमा गर्व गर्न सक्नुपर्छ हामीले ।’

सिकेको ज्ञान, शिप अनि आर्थिक लगानीको सुरक्षामा आइपर्ने कानूनी अड्चनको कुरा कसरी निप्टारा लाग्ला भन्नेमा सर्वसाधारण एनआरएनहरुले चिन्ता ब्यक्त गरिरहेको पनि उनले बताए ।

यसको ज्वलन्त उदाहरण एनआरएन भवन रहेको बताए छ । अग्रजहरुले लालपुर्जा भएको जग्गा नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट मालपोत मिनाह गराएर खरिद गरि बनाइएको थियो त्यो भवन भविष्यमा कुनै ब्यबस्था त होला तर यो आप्रबासी नेपालीको भवन सरकारीकरण हुने पो हो कि भन्ने असहजता पनि देखिएको बस्नेतले चिन्ता व्यक्त गरे ।

जसले गर्दा ४० लाख नेपालीको उत्साह, मेहनत र पसिनाको कमाइबाट संकलन गरेर किनिएको भवन नेपाल सरकारले यो झन्झटबाट एनआरएनहरुलाई चाँडै नै मुक्त गर्दै न्याय दिने छ भन्नेमा आशावादी रहेको उनले बताए ।


एनआरएनए सचिवका उम्मेद्वार अभिमानसिंह बस्नेतको प्रतिवद्धता
एनआरएनको आगामी कार्यकालको लागि म निर्वाचित भएँ भने निम्न कुराहरुलाई प्राथमिकता साथ कार्यान्वयन गर्न नेतृत्वको टिममा रहेर काम गर्ने छु ।
१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।
२) पर्यटन प्रवद्र्धनमा एनआरएनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने ।
३) Genealogy Tourism लाई प्राथमिकतामा राखेर योजना बनाउने ।
४) संसारभरीको NCC ले ICC लाई तिर्दै आएको सदस्यता लेभी घटाउन पहल गर्ने ।
५) ज्ञान शिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्धिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने ।
६) वर्तमान समयमा ICC का अधिकांश कामहरुलाई NCC ले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा ICC ले NCC लाई पनि अझ बढी सहयोग गर्ने वातावरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने ।
७) ICC/NCC को प्रत्यक्ष कम्युनिकेसनको वातावरण बनाउने ।
८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने ।
९) ICC सचिवको रुपमा महासचिव र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने ।