नेपालगन्ज : नेपालगन्जलाई महानगरपालिका निमार्णका लागि नेपालगन्ज उपमहानगरपालिकाले डिपिआएरको तयारी गर्ने भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले नेपालगन्जलाई महानगरपालिका निर्माणका लागि आवधिक योजना निर्माण गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिका प्रबक्ता प्रमोद रिजालले महानगरपालिका निर्माणका लागि आवश्यक पर्ने पूर्वाधार सहित श्रोतको खोजी गरि आवधिक योजना निर्माण गर्ने बताए ।
उनले यसरी निमार्ण गरिएको आवधिक योजनालाई आगामी नगरसभामा पेश गर्ने जनाए ।
नगर प्रमुख डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका सबै घरपालुवा पशु चौपायको ट्रयाकिङ गर्नका लागि घरधुरी सर्वेक्षण गर्ने निर्णय समेत गरेको छ ।
खुला सीमाका कारण भारतबाट भित्रिने छाडा पशु चौपाय नेपालगन्जको ठूलो समस्या भएपछि नगर कार्यपालिकाको बैठकले भारतबाट भित्रिने छाडा पशु चौपाय भित्रिन नदिनका लागि जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरि अघि बढ्ने जनाएकोछ ।
यस्तै अस्पताजन्य फोहोर व्यवस्थापन कार्यक्रम अन्तर्गत फोहर उत्पादनको मात्रा यकिन गर्नका लागि जिआईजेडसँग सहकार्य गरि काम गर्ने निर्णय समेत गरेकोछ ।