नेपालमा गिद्धको संख्या घट्दै


नेपालमा गिद्धको संख्या घट्दै

नेपालगन्ज : नेपालमा गिद्धको संख्यामा कमी आएको एक तथ्याङ्कले देखाएको छ । बिश्वमा पाईने २३ प्रकारका गिद्धहरु मध्ये नेपालमा ९ प्रजातिका गिद्ध पाईने भएपनि पछिल्लो समय उनिहरुको सँख्या घट्दै गएको नेपाल पंंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए ।

११ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा बाँकेको ओभरीमा आयोजित गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालीले मानवीय लापरवाहीका कारण गिद्धको सँख्यामा कमी आएको जानकारी दिए ।

प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको संरक्षण गर्नु अपरिहार्य रहेको जिकिर गर्दै उनले गिद्ध प्रजातीको संरक्षणका लागि सबै सरोकारवालाले ध्यान दिनु पर्नेमा जोड दिए ।

परियोजना अधिकृत नेपालीले गिद्ध प्रजातिको ईतिहास, वर्तमान अवस्था र संरक्षणमा गरिएको प्रयासका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

वातावरणीय सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपुर्ण रहने भएकाले गिद्ध संरक्षणमा ध्यान दिन नेपालीले सबैलाई आग्रह गरे । प्रत्येक वर्ष ७ सेप्टेम्बरका दिन विश्वभर अन्तराष्ट्रिय गिद्ध दिवस मनाउने गरिन्छ । नेपालमा सेप्टेम्बर १ देखी ७ सम्म सप्ताव्यापी रुपमा गिद्ध दिवस मनाईदै आएको छ ।

कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन यूवराज रेग्मीले बाँकेमा पछिल्लो समय गिद्धको संख्यमा कमि आएको र गिद्ध प्रजातीकको संरक्षणका लागि निकुञ्ज र स्थानीयहरुको सहयोगको खाँचो रहेको बताए ।

देशकै सबै भन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जमा उपलब्ध जनावर र पंक्षिहरुको संरक्षणमा स्थानीय जनताको प्रत्यक्ष सहभागीता हुनुपर्नेमा रेग्मीले जोड दिए ।

नेपाल पंक्षी संरक्षण संघ लाजिम्पाट काठमाण्डौको सहयोग, बाँके राष्ट्रिय निकुञ्ज र इन्रुडेक कोहलपुरको समन्वय तथा सामुदायिक रेडियो प्रतिबोध एफएमको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।