१७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै

लोकसेवा परीक्षा प्रक्रिया सुरु:


१७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै

काठमाण्डौं: केन्द्रीय सरकार अन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको छ । करिब दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको हो ।

केन्द्रीय सरकारमा लामो समयदेखि रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया सुरु हुन नसक्दा नीतिगत निर्णयदेखि सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायबाट माग भई आएको संख्याको आधारमा पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयको बिहीवारको सो निर्णयसँगै लोकसेवाले केन्द्रीय सरकारमा कर्मचारी भर्नाको प्रक्रिया थाल्नेछ । लोकसेवाले पनि आवश्यक तयारी थालिएको जानकारी दिएको छ ।

संघमा कर्मचारी समायोजनका कारण अबरुद्ध रहदै आएको कर्मचारी भर्ना प्रक्रियाका लागि मन्त्रालयले आयोगलाई पठाउने निर्णय गरेको माग आकृति फारममा प्रशासन सेवाका ७० भन्दा बढी सहसचिवको माग गरिएको छ, भने उपसचिवमा पनि प्रशासन सेवाकै बढी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जानकारी दिएको छ ।

यो निर्णयसँगै संघमा रिक्त रहेका विभिन्न सेवा समूहका अन्य ७ हजार रिक्त पदमा पनि कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुनेछ ।