१६ किलो सुनसहित पक्राउ परेका गरुङ जेल चलान


१६ किलो सुनसहित पक्राउ परेका गरुङ जेल चलान

गोरखा: गत साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखास्थित धार्चे गाउँपालिका–३, केरौँजाका धनकमल गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत गोरखाका न्यायाधीश रमेशकान्त अधिकारीको ईजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

केरौँजाका व्यवसायी गुरुङ ओढारमा आफैंले लुकाएर राखेको १६ किलो सुनसहित पक्राउ परेका थिए । सुन लुकाएर आफू अपहरणमा परेका भनी बेपत्ता भएका गुरुङको खोजतलास गर्दा सुन लुकाएर फरार भएको खुल्न आएपछि उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका गुरुङविरुद्ध राजश्व अनुसन्धान विभागले बुधबार मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

यसैबीच, गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई बिहीबार पक्राउ गरेको छ ।

सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई हत्या आरोपमा बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

‘लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘रिस थाम्न नसकी कुटपिट गर्दा लामाको मृत्यु भएको अनुसन्धानबाट पाइएको छ ।’

पक्राउ परेका लामाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस