नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने गराउने सन्दर्भमा स्थानीय प्रशासनसँग सधै सहकार्य र समन्वय गरिरहेको बताएका छन् ।
उनले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक विरबहादुर ओलीको स्वागतमा यस्तो बताएका हुन् ।
उपमहानगरपालिकाले आईतबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख राणाले भने–‘नेपालगन्जको संवेदनशीलतालाई सधै ख्याल गर्न सुझाव दिदै प्रमुख राणाले उपमहानगरपालिका स्थानीय प्रशासनसंग सहकार्य र समन्वयका लागि सधै तयार रहेको बताए ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्काले शान्ति सुरक्षाको सवालमा कुनैपनि कम्प्रोमाईज नहुने बताए । उपमहानगरपालिकाले गरेको स्वागतले काम गर्ने हौसला बढेको भन्दै उनले यसले जिम्मेवारी पनि बढाएको दावी गरे ।
‘म आफु पनि भ्रष्टाचार गर्दिन, मेरो क्षमताले भ्याएसम्म गर्न पनि दिन्न’ प्रजिअ खड्काले भने,–‘मलाई यसमा निरन्तर खबरदारी गर्नुस् ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओलीले प्रहरीको एकल प्रयासले मात्रै जिल्लामा शान्ति सुरक्षा हुन नसक्ने भन्दै यसमा सवैको सहकार्य जरुरी भएको बताए ।
उनले तस्कर घुसघोर र गुण्डागर्दीसँग आफुले कुनै सम्झौता नगर्ने भन्दै स्थानीय सरकारको सहयोग र साथको अपेक्षा गरे ।
स्वागत कार्यक्रममा नेपालगन्जका उपप्रमुख उमाथापा मगरले स्थानीय सरकार र प्रशासनबीचको सहकार्य र समन्वयले शान्ति सुरक्षा र सुशासनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा नेपालगन्जका प्रमुख राणा, उपप्रमुख मगर, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, विभिन्न वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत कर्मचारीले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपी विर वहानदुर ओलीलाई स्वागत गरेका थिए ।