तिहारको आज दोस्रो दिन बिहान कुकुर र साँझ लक्ष्मीको पूजाआराधान गरिदैंछ।
कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो।
हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा दूतका रूपमा लिने धार्मिक विश्वास छ। यमलोकको द्वारमा बस्ने श्याम र सबल नामका दुई कुकुरले यमराजको सन्देशवाहकका रूपमा काम गर्ने धार्मिक मान्यता रहेको छ। त्यसैले कुकुर तिहारका दिन कुकुरको पूजा गरी सम्मान गर्ने परम्परा रहिआएको छ।
आज बिहानैदेखि घरपालुवा तथा सडकमा रहेका कुकुरलाई नुहाइदिएर टीका र माला लगाइदिने तथा मिठा परिकार खुवाउने गरिन्छ। कुकुरलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्दा यमराज प्रसन्न हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
कुकुरलाई सुरक्षा दिने, अपराध अनुसन्धानमा सहयोग गर्ने तथा मानिसको साथीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनावरका रूपमा पनि लिइन्छ। विशेषगरी घरको सुरक्षा, खोज तथा उद्धार र सुरक्षाकर्मीका काममा कुकुरको योगदान महत्वपूर्ण मानिन्छ।
तिहारका पाँच दिनमध्ये काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका गरी विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार पर्व मनाइन्छ।
त्यस्तै आजै नरक रक चतुर्दशी धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा मनाइन्छ । यस दिन स्नान, तर्पण तथा यमदीप दान गर्ने धार्मिक परम्परा रहेको छ।
तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हाे। आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू सफा गरी दीपावलीका साथ लक्ष्मीको पूजा गर्ने परम्परा छ । साँझ घरको मूलढोकादेखि पूजा कोठासम्म दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ। घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन पनि छ।
यस दिन लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरी धनधान्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । घरमा भएका धनसम्पत्ति, गरगहना तथा बहुमूल्य वस्तु राखेर विशेष पूजा गर्ने परम्परा छ ।
लक्ष्मीपूजाका अवसरमा घरघरमा सेलरोटी, अर्सा र अनर्सालगायत परिकार बनाउने गरिन्छ। साँझपख बालबालिका तथा युवायुवती समूह बनाएर घरघरमा भैलो खेल्ने परम्परा पनि छ।
‘भैलिनी आयौँ आँगन, गुन्यू चोलो माग्न, हे औँसीको बारो, गाईतिहार भैलो’ भन्दै भैलो खेल्ने चलनले गाउँघरदेखि सहरबजारसम्म तिहारको रौनक थप्ने गरेको छ।
त्यस्तै केराका थम्बाले घरको मूलद्वार सजाउने, दियो बाल्ने, पटाका पड्काउने तथा विभिन्न रङका बत्ती र फूलझरीले घरआँगन उज्यालो बनाउने गरिन्छ ।
लक्ष्मीपूजाको राति माता लक्ष्मी पृथ्वीमा आई घरघरमा बास गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने धार्मिक विश्वास छ। यही विश्वासका साथ घरको प्रवेशद्वारदेखि भित्री कोठासम्म लक्ष्मीका पाइला बनाउने प्रचलन रहेको छ।
तिहारको यो विशेष दिनले धार्मिक आस्था, पारिवारिक भेटघाट, सांस्कृतिक परम्परा र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास गरिन्छ। दीपावलीको उज्यालोसँगै सुख, शान्ति र समृद्धिको कामना गर्दै आज देशभर लक्ष्मीपूजा मनाइँदैछ।
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?
एनपिएल : लुम्बिनी लायन्सको अविजित यात्रामा ब्रेक लाग्यो, काठमाडौं गोर्खाज् दोस्रो स्थानमा
वाफ रे! १८ करोडमा पार्टी किनेको कुरा छ… : शेरबहादुर देउवा
दाङका गाेकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा अनुमोदन
नेपाल फेस्टिभलमा अष्ट्रेलियाका प्रधानमन्त्री, नेपालीसँग अन्तरंग