राजनीतिसँगै उथल-पुथल भएको रेशम-रञ्जिताको ‘प्रेम-कथा’


सेतोखरी सेतोखरी   ५१ मिनेट अगाडि
राजनीतिसँगै उथल-पुथल भएको रेशम-रञ्जिताको ‘प्रेम-कथा’

काठमाडौं। राजनीतिसँगै सम्बन्धमा पनि दरार आएपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०की नेता रञ्जिता श्रेष्ठले आफ्ना पति रेशमलाल चौधरीमाथि कानुनी उपचार खोज्ने घोषणा गरेकी छिन्। मंगलबार मध्यराततिर सामाजिक सञ्जालमा एक लामो सन्देश लेख्दै रञ्जिताले पति विरुद्ध कानुनी उपचारमा जाने बताएकी हुन्। 

सामाजिक सञ्जालमा उनले रेशमविरुद्ध कस्तो मुद्दा दिने भनेर भनेकी छैनन्। तर उनले अब रेशममाथि बहुबिवाहको मुद्दा दिनेछिन्। रञ्जिता रेशमकी पहिलो श्रीमति हुन्। काठमाडौंमै बस्छिन्। वर्दिया मूल घर भएका रेशमले रञ्जितापछि उतै घर भएकी आशा चौधरीसँग दोस्रो बिवाह गरेका थिए। टिकापुर काण्डमा रेशमको घर जलेपछि उनिहरू अहिले वर्दियामा बस्दै आएका छन्। 

लामो समयसम्म उनि दुबै श्रीमतिसँग सँगै छन्। सम्बन्ध विच्छेद नै नगरेर दोस्रो बिहे गरेका रेशम र रञ्जिताबीच राजनीतिसँगसँगै पारिवारिक सम्बन्धको पनि विवाद चर्किदैं गयो। कैयौपटक रेशमले आफैले माफी पनि मागे। रञ्जितासँग सम्बन्ध राम्रो भएको देखाउन उनले यसअघि धेरैपटक सँगसँगै बसेको, घुमेको तस्बिरहरू पनि सामाजिक सञ्जालमा राख्ने गरेका थिए। अहिले पछिल्ला केही दिनदेखि रेशमकी कान्छी श्रीमतिले रेशमसँगका तस्बिर अनि भिडिओहरू सामाजिक सञ्जालमा राख्न थालेपछि रञ्जिताले कानुनी बाटो रोज्ने घोषणा गरेकी हुन्। केही दिनअघि आशाले सामाजिक सञ्जालमा एउटा भिडिओसँगै लेखेकी थिइन् ‘मान्छेहरु भ्रममा छन्, म उहाँको एक्लो बुढी हो।’ रेशमकी कान्छी श्रीमति आशा मोडल हुन्। उनले केही थारु भाषाको चलचित्रहरूमा अभिनय पनि गरेकी छिन्। त्यही चलचित्र निर्माणका क्रममा उनिहरू नजिकिएका हुन्। रेशम गीतकार, साहित्यकार चलचित्रका निर्माता(निर्देशक पनि हुन्। 

उनिहरूका यस्ता क्रियाकलापबाट जेठी श्रीमति रञ्जिताले आफू र आफ्ना सन्तानहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै कानुनी उपचारमा जाने बताएकी छिन्। 

‘एउटी आमाका लागि आफ्नो सन्तानको पीडा सबैभन्दा ठूलो हुन्छ। मेरो छोराले आफ्नो बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यो अभाव महसुस गर्दा मेरो मन कति पटक टुट्यो, त्यसको हिसाब मसँग छैन। मैले उसलाई कहिल्यै उसको बुबाविरुद्ध विष भरिनँ। उसको बालमनमा घृणा रोपिनँ। बरु हरेकपटक उसका प्रश्नहरूको उत्तर दिँदा आफ्नै आँसु लुकाएँ। किनकि बच्चाले आमाबुबाबीचको विवादको भार बोक्नु हुँदैन। तर बुबा हुनु केवल सम्बन्धको नाम होइन, यो सन्तानप्रतिको जिम्मेवारी पनि हो। आज म आफ्नो छोराका लागि उभिएकी छु। उसको भविष्यका लागि उभिएकी छु। र आफ्नो आत्मसम्मानका लागि पनि उभिएकी छु’ रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘लामो समयको मौनतापछि मैले कानुनी बाटो रोजेकी छु। यो प्रतिशोध होइन। कसैलाई अपमान गर्ने अभियान होइन। आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्ने मेरो अधिकार हो।’

उनले यसलाई भावनाको विषय नठानेर सामाजिक सञ्जालबाट नभइ कानुनी, प्रमाणहरूका आधारमा टुङ्ग्याउनुपर्ने पनि बताएकी छन्।  
‘अब कसैले यसलाई भावनाको विषय ठान्न सक्छ, कसैले व्यक्तिगत विवाद भन्न सक्छ। तर केही विषयहरू सामाजिक सञ्जालको बहसले होइन, कानुन र प्रमाणले टुंगिनुपर्छ। यदि कुनै काम कानुनविपरीत भएको रहेछ भने त्यसको परिणामबाट कोही पनि उम्किन सक्दैन। कानुनले आफ्नो बाटो लिँदा आउने परिणामलाई सामना गर्ने साहस पनि त्यत्तिकै आवश्यक हुन्छ’ उनले भनेकी छिन्। 

रञ्जिताले कसैलाई जेल जान नपरोस् भन्दै कानुनी बाटोमा जाँदा आफ्नै अन्तर्मनको अदालतबाट यस्तो निर्णयमा पुगेको पनि बताएकी छिन्। 
‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिँदिनँ। म कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ। तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन। र कानुनभन्दा बाहिर एउटा अर्को अदालत पनि हुन्छ-आफ्नै अन्तर्मनको अदालत। त्यहाँ न कुनै पदले काम गर्छ, न कुनै पहुँचले, न कुनै सामाजिक हैसियतले’ उनले भनेकि छिन् ‘मानिसले अरूलाई दिएको पीडा बिर्सन सक्छ, तर आफ्नै कर्मको हिसाबबाट सधैँ भाग्न सक्दैन। आज अरूलाई सामान्य लागेका केही निर्णयहरू भोलि आफ्नै जीवनको सबैभन्दा ठूलो पश्चात्ताप बन्न सक्छन्। म कसैलाई दोषी घोषणा गरिरहेकी छैन। त्यो अधिकार कानुनको हो। म केवल यति चाहन्छु, सत्यलाई सत्यकै रूपमा सामना गर्ने साहस रहोस्।’

रेशमसँगको सम्बन्धका बारेमा आफूले भोगेका र सहेका कुरा पनि उनले सार्वजनिक गरेकी छिन्। 

‘कमजोर भएर होइन, सम्बन्धको मर्यादा, परिवारको सम्मान र आफ्नै संस्कारका कारण। मसँग बोल्ने कारण थिए, पीडा थियो, प्रश्नहरू थिए। तर मैले धेरैपटक आफ्नो मनलाई सम्झाएँ, सायद समयले सबै कुरा आफैँ स्पष्ट पार्नेछ। तर केही पीडा समयसँगै हराउँदा रहेनछन्। झन् गहिरिँदा रहेछन्।  मैले धेरै कुरा सहें। सम्बन्ध जोगाउन आफ्नो पीडा लुकाएँ। आफ्नो आत्मसम्मानमा चोट लाग्दा पनि मौन बसेँ’ उनले लेखेकी छिन् ‘मेरो छोरा एकदिन ठूलो भएर पछाडि फर्केर हेर्दा यति मात्र बुझोस्, उसकी आमाले कसैलाई हराउन होइन, उसको भविष्य, आफ्नो सम्मान र सत्यका लागि अन्तिमसम्म उभिने साहस गरेकी थिइन्। म आज पनि उसको अगाडि ढाल बनेर उभिएकी छु। म शान्त छु। तर अब कमजोर छैन। म कसैसँग युद्ध गर्न निस्केकी होइन, म मेरो छोरा, मेरो अधिकार र मेरो आत्मसम्मानको पक्षमा उभिएकी हुँ।’ 

२०७२ साल भदौ ७ गते ‘थरुहट’ आन्दोलनका क्रममा भएको टीकापुर हत्याकाण्डमा तत्कालीन थारु अगुवा रेशम चौधरीलाई मुख्य योजनाकारका रुपमा सरकारले दोषी बनाइएको थियो। त्यसपछि रेशम लामो समयसम्म भूमिगत भएका थिए। २०७४ सालमा भएको आम निर्वाचनमा उनले भूमिगत भएरै उम्मेदवारी दिए र चुनाव पनि जिते। पछि उनले अदालतमा आत्समर्पण गरेका थिए। 

 टीकापुर हत्या–घटनामा संलग्नताको आरोपमा थुप्रै व्यक्तिलाई पक्राउ गरियो। मुद्दा चलाइयो। टीकापुर घटनामा हत्या र हातहतियार तथा खरखजानालगायत अभियोगमा मुद्दा चलाइएका ५८ जनामध्ये केही फरार छन् भने केही जेल सजाय भुक्तान गरेर निस्किसकेका छन्।

रेशमलाई २०८० सालको गणतन्त्र दिवसका बेला राष्ट्रपतिले आममाफी दिएर छुटेका थिए। त्यो बेला जेलभित्रै बसेर उनले नागरिक उन्मुक्ति पार्टी बनाइसकेका थिए। र पत्नी रञ्जिता अनि उनका बुवालेसमेत २०७९ सालको निर्वाचन जितिसकेका थिए।

उनि जेलबाट बाहिरिएपछि श्रीमतीसँग राजनीतिकमात्रै होइन पारिवारिक दूरीसमेत बढ्यो। जेलबाट बाहिरिएपछि रेशमले आफू नै पार्टीको अध्यक्ष भएको घोषणा गरेका थिए। जेलमा हुँदा त्यहीँबाट निर्देशन दिएर श्रीमतिलाई पार्टी हाँक्न लगाए। त्यसपछि आफै पार्टी अध्यक्ष भएको दाबी गरे। मुद्दा निर्वाचन आयोगसम्मै पुग्यो। तर आयोगले रञ्जितालाई नै पार्टी अध्यक्षको हैसियत दियो। हाल उनकी श्रीमतिले नागरिक उन्मुक्ति पार्टीलाई प्रचण्ड नेतृत्वको नेकपामा समाहित गरिसकेकी छन्। भने रेशम फेरि त्यस्तैखालको ‘नयाँ राजनीतिक शक्ति’ निर्माण गर्ने तरखरमा छन्। लक्ष्मण चौधरी गत फागुनमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट पाएर सांसद भएका छन्।