काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए


सेतोखरी सेतोखरी   १३ मिनेट अगाडि
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए

काठमाडौं। १५ औं महाधिवेशनको प्रारम्भिक चरणअन्तर्गत असोज ३ र ४ गते देशभरिका लगभग ६१३२ वडाहरूमा अधिवेशन सकिएको नेपाली काँग्रेसले जनाएको छ। यी अधिवेशनबाट नेपाली काँग्रेसको स्थानीय तहमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू चुनिएका छन्। 
अब यी क्षेत्रीय प्रतिनिधिहरूले पालिका तथा क्षेत्रीय समितिहरू चयन गर्ने अधिकार पाएका छन्। क्षेत्रीय अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरू तथा प्रदेश प्रतिनिधिहरू तोकिनेछन्। त्यसपछि उनिहरू नै केन्द्रीय महाधिवेशनमा सहभागी हुनेछन्। 

आइतबार साँझसम्मको अपडेटअनुसार नेपाली काँग्रेसले ७७ मध्ये केही जिल्लाका केही वडाहरूबाहेक अधिकांश वडाहरूमा सर्वसम्मत कहिँकहिँ निर्वाचनबाटसमेत नेतृत्व चुनिएको जनाएको छ। 

काँग्रेस केन्द्रीय निर्वाचत समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दोस्रो दिन आइतबार साँझसम्म ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ वाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ वाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं.२ वाहेक), रौतहट (क्षेत्र नं. १ वाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ वाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम ९पूर्व०, रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला गरी ७३ जिल्लाका ६१३२ वडामा अधिवेशनहरू सम्पन्न भएका छन्। 

भोटेकोशी बाढीका कारण तीन जिल्लामा भने निर्वाचन कार्यक्रम पछिमात्रै हुने समितिले जनाएको छ। तीबाहेक विभिन्न कारणले आइतबार रोकिएका अधिवेशनहरू सोमबार पनि जारी रहनेछन्। 

‘केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला वाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, परासी क्षेत्र नं. २, तथा आज सम्पन्न हुन छुट भएका सम्पूर्ण वडा अधिवेशन लगायतको वडा अधिवेशन असोज ५ गते सोमवार पनि निरन्तर जारी रहने व्यहोरा यसै सूचना मार्फत सरोकारवाला सबैमा जानकारी गराइन्छ’ सदस्य सचिव ढकालले भनेका छन्।